Logo

गठबन्धन बैठकः रिपोर्ट पठाउने म्याद थपेको थप्यै



काठमाडौं, चैत २९। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरे पनि निर्णयको कार्यान्वयनमा भने बेमेल देखिएको छ ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

मंगलबार गठबन्धन आबद्ध पाँच दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । सो बैठकले गठबन्धनबाट तालमेलको मोडालिटी तय गर्ने र टिकट बाँडफाँट गर्ने गरी प्रदेश र जिल्लामा संयन्त्र बनाउने निर्णय गरेको कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेगरी सहमति भएको छ ।

यसैगरी, नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनिएको छ ।

यस्तै, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँट जिल्ला संयन्त्रले गरी ३ वैशाखभित्र टुंगो लगाउन भनिएको छ ।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई÷दुई जना प्रतिनिधि रहनेगरी केन्द्रीय तहबाट निर्णय गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्