Logo

कमल थापाको प्रतिप्रश्नः “पाँच ठूला दलहरूको गठबन्धनविरुद्ध साना दल एक्लै गएर कसरी जित्ने ?”



काठमाडौं, १ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ ठूला दलहरुले गठबन्धनको ढोका बन्द गरेपछि आफ्नो पार्टीका निम्ति नेकपा एमालेसँग तालमेल गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “नेपाली कांग्रेसलगायत ठूला दलहरुको गठबन्धन बन्यो । उहाँहरुले ५ दलबाहेकको गठबन्धन नहुने भनेर तालमेलको ढोका नै बन्द गरिदिनुभयो । ५ ठूला दलहरु एकातिर भएपछि साना दलले एक्लै गएर सफलता प्राप्त गर्न गर्छन् ? हामीसँग ५ दलबाहेक अरु दलसँग गठबन्धन गर्नुको विकल्प नै थिएन । हामीले नेकपा एमालेलाई तुलनात्मक रुपमा निकट पायौं र सहकार्यको सहमति गरेका हौं ।”
राप्रपा नेपाल किन एमालेमा विलय भयो, कारण बताउनुस् भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले थपे, “कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा आदिले गठबन्धन गर्दा विलय नहुने, राप्रपा नेपालले एमालेसँग तालमेल गर्दा विलय भयो भन्नु जस्तो हास्यास्पद कुरा के हुन सक्छ ? कांग्रेस र माओवादीबीच त सहकार्य हुन्छ भने एमाले र राप्रपा नेपालबीच किन नहुने । हामीबीच धेरै कुरामा समानता छ । सबै विषयमा एउटै धारणा हुने हो भने छुट्टै पार्टी हुन्थेन । तालमेलको उद्देश्य चुनाव जित्ने हो । हामीसँग सहकार्य गर्दा एमालेलाई पनि फाइदा हुन्छ ।”
सूर्य चिह्न लिएर तालमेल गर्ने दरकार किन पर्यो भन्ने पत्रकार धमलाको अर्काे प्रश्नमा राप्रपा नेपालका अध्यक्ष थापाले भने, “निर्वाचन आयोगले उम्मदेवार नै खडा नहुने स्थानका लागि पनि मतपत्र छापिसकेको छ । त्यसैले अलग अलग चिह्न लिएर जाँदाखेरि मतपत्रमा तीर र सूर्य दुवै रहने भए । दुवै चिह्नमा छाप लगाउँदा मतपत्र बदर हुने सम्भावना देखियो । निर्वाचन कानुनले दुई पार्टीले आपसमा साझा चिह्न लिएर जाने र जितेपछि आआफ्नो पार्टीमा रहने व्यवस्था गरेकाले हामीलाई सजिलो भयो । राप्रपा नेपाल नयाँ पार्टी हो । चुनाव चिह्न पनि देशभरि पुर्याउन सकेका छैनौं । नयाँ पार्टी भए पनि सूर्य चिह्न प्रयोग गर्ने सहमतिका निम्ति नेकपा एमालेलाई धन्यवाद छ ।”
उनले राप्रपासँग आफ्नो कुनै वैमनस्यता नरहेको पनि स्पष्ट पारे । थापाले भने, “हामीले स्थानीय तहका कार्यसमितिलाई तालमेलका निम्ति जिम्मेवारी दिएका छौं । राप्रपासँग तालमेल नगर्ने भन्ने हाम्रो कुनै नकारात्मक दृष्टिकोण छैन । राप्रपाप्रति वैमनस्यता छैन, नेताप्रति वैरभाव छैन । मैले लामो समय त्यही पार्टीको नेतृत्व गरें । राप्रपालाई पनि सद्भाव, शुभकामना र शुभेच्छा छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot