Logo

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना



काठमाडौं, बैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

महावीरले जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ।

समाजमा विद्यमान अन्धविश्वास, विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ।

सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाउने गरिन्छ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग–सत्य, अहिंसा, ब्रह्मचर्य, अचौर्य र अपरिग्रहका सिद्धान्त प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तको पालनासमेत गरे। उनले अहिंसा र संयमको उत्कृष्ट साधना गरे। यसरी महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको सङ्गमले मानवजीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ।



प्रतिक्रिया दिनुहोस्