Logo

मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालन



मनाङ, १ वैशाख । नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ ।

नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए ।

“मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटिएम सेवा सञ्चालनमा ल्याइएको हो”, प्रबन्धक जोशीले भने । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन ।

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ”, उनले भने ।

एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । “एटिएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ”, उनले भने ।

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटिएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटिएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् । रासस



प्रतिक्रिया दिनुहोस्