Logo

सूर्य चिह्न लिएर उठ्ने भनेको एमालेमा विलय नै होः रामवीर मानन्धर



काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानन्धरले भने, “नेकपा एमालेको ठूलो संगठन छ । संगठन व्यवस्थापन र कार्यकर्ता परिचालनमा पनि अग्रणी छ । साढे तीन वर्षको केपी ओलीको सरकार र पाँच वर्षको स्थानीय सरकार हाम्रा मतका आधार हुन् । त्यसैले एमालेको सूर्य चिह्न लिएर उठ्न चाहनु अरु दलको पनि चाहना छ । विगतमा हृदयेश त्रिपाठी पनि सूर्य चिह्न लिएर उठ्नुभएकै हो । अहिले कमल थापा, एकनाथ ढकालहरुके पार्टीले पनि त्यही गर्न लागेको हो । एक हिसाबले भन्दा ती दलले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप हो ।”
एमाले नेता मानन्धरले काठमाडौं महानगरपालिकाको मेयरमा आफू सशक्त दाबेदार भएको दाबी गरे । उनले भने, “पार्टीमा ५ जना आकांक्षीको नाम सिफारिस भएको छ । म पनि सशक्त दाबेदार हुँ । पार्टी स्थायी कमिटीले पक्कै पनि यसबारे सोच्ने छ ।”
आफूले मेयरको टिकट पाएर जितेमा फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने पनि उनले बताए । उनले भने, “अहिले पनि काठमाडौं महानगरमा विकास हुँदै नभएको होइन । ३२ वटै वडामा विकास भएको छ तर व्यवस्थित ढंगले प्रचार गर्न सकिएन । मैले मेयर जितेँ भने फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिन्छु । ६ महिनाभित्र त्यो काम गर्न नसके राजनीमा दिन्छु ।”
यसबाहेक उनले पानी, ढल, ट्राफिक व्यवस्थापन, करिडोरका कुरा आफ्नो एजेन्डा हुने पनि उनले सुनाए । उनले भने, “अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा इच्छाशक्तिको आवश्यकता हो । त्यो मसँग छ । मैले वडाध्यक्ष, सांसद र राज्यमन्त्री रहेर अनुभव हासिल गरिसकेको छु । म काठमाडौं महानगरबासीलाई विश्वास दिलाउन सक्छु ।”



प्रतिक्रिया दिनुहोस्