Logo

भोटेकोशी किनारमा बनेको ४ करोडको स्विमिङ पुल हेरेपछि पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ असन्तुष्ट



काठमाडौं, ३ बैशाख । कोरोनाकालमा भोटेकोशी नदी किनारमा झन्डै ४ करोड हालेर बनाइएको स्विमिङ पुल हेरेपछि संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा बनाएको उक्त स्विमिङ पुल निरीक्षण गर्न पुगेका बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले उक्त स्विमिङ पुलको उपदेयता र औचित्यमाथि प्रश्न उठाउँदै थप बजेट निकाशा नदिने संकेत गरेका छन् ।

४ करोडमा स्विमिङ पुल बनाएको जानकारी पाएपछि मन्त्री श्रेष्ठले उक्त प्रोजेक्टमा अनियमितता भएको हुन सक्ने आशंका समेत गरेका छन् । नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाएर राज्यको पैसा दुरुपयोग मात्र भएको छैन यसमा आर्थिक अनियमितता समेत भएको हुन सक्ने आशंका गर्ने ठाउँ छ । पर्यटनमन्त्री श्रेष्ठले भने,  स्विमिङ पुलमा भएको अनियमितताको विषयमा हेटौंडा पुगेलगत्तै छानबिन समिति बनाएर थप अध्ययन गर्छु । यो स्विमिङ पुलको विषयमा अख्तियारको समेत ध्यानाकर्षण हुन आवश्यक छ ।

स्विमिङ पुलको निरीक्षण गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले राज्यको ढुकुटी गलत ठाउँमा प्रयोग भएको भन्दै दुःख समेत प्रकट गरे । साथै उनले अब पर्यटन मन्त्रालयले बजेट बनाउँदा यस्ता गलत ठाउँमा राज्य कोषको दुरुपयोग नहुने गरी बनाउने स्पष्ट पारे । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनाएको छ ।

निरीक्षणमा पुगेका उनले स्विमिङ पुलमा लगानी गरेर आफूभन्दा पहिलाका मन्त्रीले गलत गरेर निष्कर्ष निकालेका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु पर्ने आवश्यकता रहेको पर्यटनमन्त्री श्रेष्ठले औंल्याए । पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीलाई साथमा लिएर स्विमिङ पुलको अनुगमन गर्न पुगेका उनी लामोसाँघु पुगेपछि स्तब्ध बने ।

मन्त्रालयको टोली नै लिएर स्विमिङ पुल निरीक्षण तथा अनुगमन गर्न उनी लामोसाँघु पुगेका पर्यटनमन्त्री श्रेष्ठ निरीक्षणपछि निराश भएका छन् । भोटेकोशीमा समुदायमा आधारित पर्यटकीय पदमार्गमा पर्ने खोला किनारमा प्राकृति स्विमिङ पुल निर्माण गर्ने भनेर कंक्रिट स्विमिङ पुल बनाएको देखिन्छ । प्राकृतिक रुपमा रहेको जलस्रोतको प्रयोग गरी निर्माण गरिएको राष्ट्रियस्तरको उक्त पौडी पोखरीले एडमण्ड हिलारी तेन्जिङ नोर्गे पर्यटकीय पदमार्ग छोएको आयोजना प्रमुख विष्णु भण्डारी बताउँछन् ।
‘पदमार्गमा अवातजावत गर्ने पदमार्गीहरुले पौडी खेलुन, पौडीवाजहरुलाई पौडी तालीम र स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता संचालन गरी खेलकुद र पर्यटनलाई जोड्ने उद्देश्यले उक्त पौडी पोखरी (स्विमिङ पुल) निर्माण गरिएको हो ।’- उनले भने ।

४ करोडको स्विमिङ पुल सुरक्षा गर्न १० करोड बढी लाग्ने प्रदेश सरकारले झन्डै ४ करोड हालेर बनाएको स्विमिङ पुलको सुरक्षाका लागि अर्को १० करोडले नपुग्ने देखिन्छ । भोटेकोशी नदीको सतहभन्दा तल रहेको उक्त स्विमिङ पुल भोटेकोशीको पानी रसाउन नदिन थप लगानी गर्नुपर्ने आवश्यकता प्रविधिकहरुले औंल्याएका छन् । बर्खायाममा भोटेकोशी सीधै स्विमिङ पुलमा छिर्न सक्ने सम्भावना देखिएकाले त्यसलाई रोक्न १० करोड बढी खर्च लाग्न सक्ने प्राविधिकहरुको भनाइ छ । घेराबार, चेन्जिङ रुम, कटअफ वाल, ड्रेन र ल्याण्ड स्क्यापिङ निर्माण गर्न आवश्यक रहेको आयोजना प्रमुख भण्डारी बताउँछन् । यी सबै कुराका लागि अर्को १० करोडले पनि नपुग्ने देखिन्छ । पर्यटनमन्त्री श्रेष्ठले स्विमिङ पुलमा नजिकैको धुलो पस्ने भएकाले उक्त कुरा व्यवस्थापन गर्न पनि चुनौती रहेको बताए ।

भोटेकोशी नदी किनारमा स्विमिङ पुल निर्माण गर्ने ठेक्का हत्याएका टंक दुलाल तत्काल स्विमिङ पुल घेराबार नगरी स्विमिङ पुल सञ्चालनमा ल्याए ठूलो दुर्घटना हुने बताउँछन् । स्विमिङ पुल नजिकै स्कुल रहेकाले बालबालिका खेल्न ठाउँ रहेको र मादक पदार्थ सेवन गरेका व्यक्ति स्विमिङ पुल बनेको एरिया आइरहने भएकाले स्विमिङ पुलमा डुबेर दुर्घटना हुने उनको भनाइ छ । त्यसका लागि थप बजेट विनियोजन गरिदिन उनको अनुरोध छ । २०७७ कार्तिक १८ गते स्विमिङ पुल निर्माणको काम सुरु गरेका ठेकेदार दुलालले सम्झौता बमोजिमको काम सकिसकेका छन् । उक्त स्विमिङ पुल त्यहाँ चल्न सक्दैन भन्ने कुरा उनी पनि स्वीकार्छन् ।

बागमती प्रदेशको पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालका भाइ पर्ने टंक स्विमिङ पुलको सुरक्षा गर्न थप काम हात पार्ने दाउमा रहेका छन् । ३ करोड १४ लाख २३ हजार ३६५ रुपैयाँमा ठेक्का सम्झौता गरेका मालिकादेवी ( शान्तीदेवी जेभीले चलखेलमार्फत भेरिफिकेसन गराएर ३ करोड ५४ लाख ३३ हजार १ सय २६ रुपैयाँ पुर्‍याएको खुल्न आएको छ । २ करोड ३१ लाख ९९ हजार ५३६ रुपैयाँ भुक्तानी लिइसकेको आयेजना प्रमुख भण्डारीले जानकारी दिए । स्विमिङ पुल ढलान, फिल्ट्रेसन ट्यांकीको ढलानसम्मको निर्माण भएको देखिन्छ । अझै त्यहाँ गर्नुपर्ने काम धेरै छ ।

५० मिटर लम्बाई, २५ मिटर चौडाई र डेढ मिटर उचाई रहेको उक्त स्विमिङ पुल राज्य कोषको चरम दुरूपयोग भएको नमूना प्रोजेक्टको रुपमा भविष्यमा चिनिने निश्चित छ । भ्रष्टाचारकोविरुद्धमा आवाज उठाउँदै आएका पर्यटनमन्त्री श्रेष्ठनै अनियमितता भएको हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेकाले यो विषयलाई अख्तियारले समेत गम्भीरतापूर्वक हेर्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्