Logo

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग अनिश्चित



काठमाडौं, बैशाख ४। कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल रंगशाला बनाइदिनुपर्ने जस्ता अनौठा माग गर्दै काठमाडौंतर्फका स्थानीय विरोधमा उत्रिएपछि आयोजना निर्माण नै अनिश्चित भएको हो । स्थानीयले आयोजना कार्यालयमा तोडफोड समेत गरेका थिए ।

चैत २८ गते ती माग पूरा नगरेको भन्दै सुरूङमार्गको पूर्वतर्फ काठमाडौंस्थित टोटीपाखाका स्थानीयले विरोध गरेका थिए । चन्द्रागिरि नगरपालिका, वडा नम्बर २ का स्थानीयले विरोधसँगै आयोजनाको कार्यालयमै आक्रमण गरेपछि जापानी निर्माण कम्पनी हाज्मारआन्दो कर्पोरेशनले काम रोकेको हो । उक्त कम्पनीले दोषीउपर कारवाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म काम रोक्ने जानकारी दिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

अहिले निर्माणको काम रोकिएको र निर्माण नै अनिश्चित भएको उनले बताए । आइतवार ९आज० जिल्ला प्रशासन कार्यालयले आयोजना र स्थानीयलाई छलफलमा बोलाएको छ । त्यहाँ सहमति भएमात्रै निर्माण अघि बढाउन सकिने, नत्र अनिश्चित हुने शाक्यले बताए । आक्रमण तथा विरोधले कम्पनी नै रूष्ट भएको उनको भनाइ छ । ‘हाम्रो सुरक्षा नभएसम्म काम गर्दैनौं,’ कम्पनीका अधिकारीलाई उद्धृत गर्दै शाक्यले थपे, ‘दोषीउपर कारबाहीको माग गरेका छन् ।’

नेपाली र जापानी गरी ५०० भन्दा बढी कामदारले सुरूङमार्गमा काम गर्दै आएका थिए । काम रोकिँदा २८ गतेदेखि नै दैनिक १ करोड ५० लाख रुपैयाँ जापानी कम्पनीले दाबी गर्ने अवस्था आएको उनले बताए । जापानी ऋण सहयोगमा बन्दै गरेको उक्त आयोजनामा अवरोध हुँदा नेपालले दैनिक उक्त रकम तिर्नुपर्ने हुन्छ । ‘१० ट्यांकर पानीका लागि अहिले राज्यमाथि दैनिक १ करोड ५० लाख रुपैयाँ दायित्व सृजना भएको छ,’ उनले भने, ‘कम्पनीले दाबी गर्ने रकम शनिवारसम्म ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । निर्माण कम्पनीले दाबी गरे उक्त रकम नेपालले तिर्नुपर्छ ।’ कोरोनाका कारण काममा केही ढिलासुस्ती भए पनि पछिल्लो समय कम्पनीले नियमित रूपमा दैनिक औसत १० मीटर सुरूङ खन्दै आएको थियो । कोरोना कारण काम गर्न नपाएको भन्दै आयोजनाको म्याद ३ महीना थपिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्