Logo

पुँजीगत खर्च सत्ताइस प्रतिशत



काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यस हिसाबले सरकारले बाँकी तीन महिनाभित्र दुई खर्ब ७५ अर्ब रुपैयाँ  खर्च गर्नुपर्ने देखिन्छ ।

यद्यपि सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

समीक्षा अवधिमा सरकारले कुल सात खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ जुन लक्ष्यको ४८.६४ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो ।

यसमध्ये सबैभन्दा धेरै चालू शीर्षकमा खर्च भएको कार्यालयको तथ्याङ्क छ । चैतसम्म लक्ष्यको ५८.७२ प्रतिशत अर्थात् छ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ चालू खर्च भएको छ । वित्तीय खर्च भने लक्ष्यको ३४.२९ प्रतिशत अर्थात् ६४ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ ।

लक्ष्यअनुसार शीर्षकगत बजेट खर्च नभए पनि राजस्व सङ्कलन भने सन्तोषजनक नै देखिएको छ । चैतसम्म सरकारले लक्ष्यको दुई अर्थात् ६६.८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चैतसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्