Logo

सातामा दुई दिन बिदा तत्काल लागु नहुने



काठमाडौं, बैशाख ४ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो। यसमा सैद्धान्तिक सहमति पनि भयो।

मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गतेदेखि सातामा दुई दिन बिदा हुने अनुमान धेरैले गरेका थिए। तर सो निर्णय कार्यान्वयनमा आइसकेको छैन। निजामती कर्मचारीहरू अझै पनि सातामा दुई दिन बिदा हुने या नहुने भनेर अन्योलमा छन्।

कतिपयले वैशाख ४ गते आइतबारदेखि सार्वजनिक बिदा हुने अनुमान पनि गरेका छन्। ‘चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल मात्र भएको हो। यो छलफलको विषय मात्र हो,’ एक मन्त्रीले भनिन्, ‘यसबारे निर्णय भएको छैन।’

सातामा दुई दिने बिदा दिने सम्बन्धमा निर्णय नभएको र यसबारे कुनै तयारी र गृहकार्य पनि नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। ‘मन्त्रिपरिषद्मा छलफल भयो या भएन। थाहा भएन तर यसबारे कुनै तयारी र गृहकार्य भएको छैन,’ अधिकारीले भने, ‘त्यसैले सातामा दुई दिन बिदा दिने निर्णय तत्काल लागु हुँदैन।’

गृह मन्त्रालयको प्रवक्ता फणीन्द्रमणि पोखरेलले पनि सातामा दुई दिन बिदा दिने विषयमा बाहिर हल्ला मात्र भएको बताए। ‘यो सबै हल्ला मात्र हो,’ उनले भने, ‘यसबारे कुनै तयारी र छलफल भएको छैन।’ बिदा सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जिम्मेवारी गृहको हो तर गृहकै अधिकारीहरू यसबारे सामान्य छलफल पनि नभएको बताउँछन्।

चैत २४ को मन्त्रिपरिषद्मा इन्धन र सार्वजनिक खर्च कटौती गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्