Logo

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै



काठमाडौं, बैशाख ६ । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ ।

१३ चैत २०७८ मा जर्बजस्ती करणी मुद्दामा पीडितलाई जेल सजाय गर्दै पीडकलाई उन्मुक्ति दिने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई न्यायपरिषद्ले काजमा झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीले गरेको फैसला विवादमा परेकाले प्रारम्भिक छानबिनका लागि काठमाडौं झिकाएका हुन् ।

न्यायाधीश जोशीलाई जर्बजस्ती करणी मुद्दामा न्यायिक विचलनमा परेर फैसला गरेको र कार्यक्षमताको अभावको कारण देखाउँदै काजमा झिकाइएको न्यायपरिषद् स्रोतले जानकारी दियो । उनको स्थानमा अर्को न्यायाधीश पठाउने तयारीमा रहेको न्यायपरिषद्ले जनाएको छ ।

त्यस्तै, मदिरा सेवन गरेर चलाएको सवारी चालकको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाको आरोपीलाई ६ महिना मात्रै कैद सजाय गर्ने जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारी न्यायपरिषद्को छानबिनमा छन् । विवादास्पद फैसला गरेलगत्तै न्यायाधीश सूर्यप्रसाद अधिकारी छानबिनका लागि न्यायपरिषद्मा तानिएका हुन् ।

न्यायपरिषद्का अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा दुर्गाबहादुर नाम गरेका व्यक्तिलाई सफाइ दिएको अर्को मुद्दामा न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि अनुसन्धानको घेरामा छन् ।

न्यायाधीश निरौलाको इजलासले तत्काल प्राप्त प्रमाणले सोले कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकी निर्दोष भएको निक्र्यौल गर्ने आधार नभएको भन्दै उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्