Logo

विराटनगरको मेयरमा दोहोरिन चाहन्छुः भीम पराजुली



काठमाडौं, ७ वैशाख । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको विकास र समृद्धिका निम्ति फेरि पनि उम्मेदवार बन्न चाहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर पराजुलीले भने, “म विगत ५ वर्षदेखि नैतिकता र इमानदारीपूर्वक विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा निम्ति लागिपरेको छु । मैले राजनीतिलाई पेशा बनाएको छैन, सेवा मानेको छु । कांग्रेसले मेयर जितेको भनेर मलाई संघीय र प्रदेश सरकारको सहयोग नरहँदा नरहँदै पनि जनताको सुखदुःखमा जनप्रतिनिधि छौं भन्ने अनुभूति गराएका छौं । त्यसैले फेरि पनि उम्मेदवार बन्ने अभिलाषा राखेको छु । भालिको दिनमा अवसर पाउँदा म महानगरबासीको हितमा काम गर्न तयार छु ।”
उनले आफूले मेयरबापतको तलब, भत्ता, सेवा, सुबिधा समाजसेवामा लगाएको पनि बताए । पराजुलीले भने, “म आध्यात्मिक मान्छे हुँ, सात्विक हुँ । विराटनगरको मेयर भएपछि अरु भन्दा फरक ढंगले काम गर्ने संकल्प गरेँ । आफ्नो सेवा सुविधा भत्ता २६ लाखजति हुँदो रहेछ । त्यसलाई समाजसेवामा लगाएँ ।”
समाजमा इमानदार हुन कठिन रहेको पनि उनले अनुभव सुनाए । पराजुलीले थपे, “तपाईं इमानदार हुनुभयो भने कसैसँग डराउनु पर्दैन । तर इमानदार हुन कठिन रहेछ । मलाई पनि निकै गाह्रो भयो । मसँग नजिकका साथीहरुलाई खुसी पार्न सकिनँ । तर नगरसभा, कार्यपालिकामा कसैले मेरो निर्णयमा ‘नोट अफ डिसेन्ट’लेखेनन् । मैले भ्रष्टाचार गरेको प्रमाण ल्याए सार्वजनिक जीवनबाट सन्न्यास गर्छु लिन्छु भनेको थिएँ । मलाई अतिरिक्त सम्पत्ति आर्जन गर्नु छैन । बरु भएको सम्पत्ति पनि समाजसेवामै लगाउने संकल्प गरेको छु । त्यसैले मलाई कुनै चार्ज लागेन ।”

आफूले ५ वर्षे अवधिमा थुप्रै काम गर्न सफल भएको पनि उनले बताए । पराजुलीले भने, “मैले महानगरको विकासका लागि रोडम्याप बनाएँ । अल्पकालीन, मध्यकालीन, दीर्घकालीन योजना बनाएँ । दिनरात नभनी काम गरें । यसबीचमा बाढी आयो, कोरोना आयो, तर जनताको सुखदुःखमा साथमै रहें । दलीय विभेद राखेर संघ र प्रदेशले उपमहानगरपालिकाको सरह बजेट हाले पनि हामीले धेरै काम गरेका छौं । सडकमा उल्लेखनीय सुधार आएको छ, सरकारी विद्यालयले पुनर्जीवन पाएका छन्, स्मार्ट रोड बनेका छन् । १५ वटा वडा कार्यालय भवन तयार भएका छन् । तारिणीप्रसाद कोइराला सञ्चार ग्राम, सुशीला कोइराला गुरुकुल, २५ तले बहुव्यावसायिक भवन पनि हाम्रै पालामा भएका छन् ।”



प्रतिक्रिया दिनुहोस्