Logo

अटेर गर्दै कर्मचारी, सूची फेर्दै निर्वाचन आयोग



काठमाडौं, बैशाख ८ । खटाएको ठाउँमा नजाने कर्मचारीहरूको सूची निर्वाचन आयोगले बारम्बार फेर्ने गरेको छ। आयोगले यसअघि विभिन्न मितिमा सार्वजनिक गरेको सूचीमा अहिलेसम्म पाँचपटक सूची फेरबदल गरिसकेको हो। सोमबार मात्र दुई उच्च कर्मचारीहरूको सूची फेरेको छ।

आयोगले यसअघि अछाममा मुख्य निर्वाचन अधिकृतका रूपमा सोही जिल्लाको अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई खटाएको थियो। जोशीले मुख्य निर्वाचन अधिकृत भई अछाम जान नमानेपछि आयोगले सूची फेरेको छ। सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई अछाम जिल्लाको मुख्य निर्वाचन अधिकृतका रूपमा खटाएको छ।

यसैगरी आयोगले यसअघि धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा वैदेशिक रोजगार न्यायाधीकरण कार्यालयका आनन्दराज पन्तलाई खटाएको थियो। पन्तले डबजोङ गाउँपालिकामा जान इन्कार गरेपछि आयोगले सूची फेरेको छ। अब आयोगले विशेष सरकारी वकिलको कार्यालयबाट श्रीकला पौडेललाई त्यस ठाउँमा खटाइएको छ।

आयोगले गत चैत १३ गते ६ सय ७६ जना उपसचिवसरहका कर्मचारीलाई एकैपटक निर्वाचन अधिकृतका रूपमा विभिन्न स्थानीय तहमा खटाएको थियो। तर तीमध्ये १ सयभन्दा उपसचिवहरूको सूची पटकपटक फेरिएको छ।

आयोगका अनुसार अहिलेसम्म १ सय ४ जना उपसचिवको सूची फेरबदल भइसकेको छ। जबकि, निर्वाचन प्रयोजनका लागि विभिन्न स्थानीय तहमा जाने कर्मचारीहरूलाई आयोगले शतप्रतिशत भत्ता दिने गरेको छ। शतप्रतिशत भत्ता दिए पनि १ सयभन्दा बढी उपसचिव आयोगले खटाएको ठाउँमा गएनन्।

आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले भने बिरामी अथवा कुनै कारणले खटाएको ठाउँमा कर्मचारीहरू नपुगेको बताए। तर संघीय मामिला मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव रवीन्द्रजंग थापाले भने, ‘आयोगले माग गरेअनुसार हामीले कर्मचारी आयोगमा पठाएका हौं। हामीले पठाएका कर्मचारीहरू अब हाम्रो कार्यक्षेत्रमा पर्नुहुन्न।

उहाँहरूलाई खटनपटन गर्ने काम आयोगको हो।’ तर मन्त्रालयका अर्का एक उपसचिवले भने खटाएको ठाउँमा नजाने कर्मचारीहरूलााई दायाँबायाँ नहेरी निर्वाचन कानुनअनुसार आयोगले कारबाही गर्नुपर्ने बताए। ‘खटाएको ठाउँमा नजाने कर्मचारीहरूलाई निर्वाचन कानुनअनुसार आयोगले कारबाही गर्ने हो भने यो समस्या रहन्न,’ उनले भने।

आयोग स्रोतका अनुसार खटाएको ठाउँमा जान नचाहने कर्मचारीहरूको सूची फेरबदल गर्न माथिल्लो तहबाटै दबाब आउने गरेको छ। चैतको अन्तिम साता आयोगले ८७ जनाको सूची फेरबदल गरेको थियो। अघिल्लो साता मात्र आयोगले १२ जना मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको सूची फेरबदल गरेको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot