Logo

रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता



एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ ।

क्रेमलिन समर्थक मिडिया राडोभकाले गरेको ट्वीटका अनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिकको मृत्यु भएको छ भने ७ हजार सैनिक अझै बेपत्ता छन् ।

रुसी रक्षा मन्त्रालयको गोप्य ब्रीफिङमा यो कुरा पुष्टि भएको हो । तर, राडोभकाले पछि ट्वीट हटाइन्।

युक्रेनमा युद्ध सुरु भएदेखि नै अमेरिका र सहयोगी राष्ट्रहरूले रुसमाथि लगातार प्रतिबन्धको घोषणा गर्दै आएका छन् । अहिले रुसले पनि पश्चिमा देशको शैलीमा प्रतिआक्रमण गरिरहेको छ । बिहीबार रुसी सरकारले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र फेसबुकका संस्थापक मार्क जुकरबर्गलगायत २९ अमेरिकी र ६१ क्यानेडियनलाई रुसमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलरको सैन्य सहायता पठाएका छन् । यससँगै उनले युक्रेनका लागि थप सहयोगका लागि अमेरिकी कंग्रेससँग आग्रह गर्ने बताए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो सहयोगका लागि अमेरिकालाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot