Logo

केपी ओलीलाई गफाडी भन्ने कांग्रेसले झिँगा पनि मारेको छैनः विष्णु रिमाल



काठमाडौं, १० वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले केपी ओलीलाई गफाडी भन्ने कांग्रेसले झिँगा पनि नमारेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गदै नेता रिमालले भने, “कांग्रेसीहरुको कामै गफ लगाएर बस्ने हो । तर उनीहरु केपी ओलीलाई गफ लगाएको भन्छन् । तर सरकार बनाएको यतिका दिनसम्म झिँगो पनि मारेका छैनन् । उसको सरकारले के एउटा विकासको कार्यक्रम थाल्यो त ? सहरको मनुमेन्ट हुन् धरहरा र रानीपोखरी । के उनीहरुले एमालेले बनाएका यी चिज काम लाग्दैनन् भन्न सक्छन् ? एमालेको विरोधका लागि उनीहरु यस्तै हल्काफुल्का टिप्पणी गरेर बसिरहेका छन् ।”
भ्यूटावर, केबुल कार र रेल विकास र समृद्धिका प्रतीक भएको पनि उनले औंल्याए । रिमालले थपे, “हामीले पूर्व—पश्चिम रेलको शिलान्यास गर्न खोजेकै हो । बुद्धि, व्यवस्थापन र योजना भयो भने पैसा ठूलो कुरा होइन । विकास गरेर धनी हुने हो । भ्यूटावरले राष्ट्रिय अर्थतन्त्रलाई मद्दत गर्छ । भ्यूटावर नबनाएर हिल स्टेसन मात्र पनि बनाउन सकिन्छ । जीवन सहज होस् भनेर केबलकारको कुरा गरिएको हो । अब सगरमाथाको फाटोमात्र राखेर भएन । पर्यटक तान्ने हो भने भ्यूटावर पनि चाहिन्छ ।”
एमालेको घोषणापत्रमा असम्भव कुरा केही पनि नराखिएको उपमहासचिव रिमालले बताए । उनले भने, “एमालेले कुनै नयाँ कुरा लेखेको छैन । सबै गर्न सक्ने कुरा नै छन् । यो स्थानीय तहका लागि नीतिगत निर्देशन हो । गरिबी निवारणमा प्रगति भएकै छ । खानेपानी दिन किन सकिँदैन ? निश्चित युनिट बिजुली निशुल्क गर्न सकिन्छ । गर्न सकिँदैन भने राजनीति किन गर्ने ?”
साथै उनले स्थानीय तहमा भ्रष्टाचार नभएको पनि दाबी गरे । रिमालले भने, त्यसैले स्थानीय तहले काम गरेनन्, “भ्रष्टाचार मात्र भयो भन्नु पूर्वाग्रह हो । सय वटा स्थानीय तहमध्ये ९० मा भ पनि भएको छैन । शतप्रतिशत सुशासन भयो भन्ने हुँदैन । स्थानीय तहमा भन्दा त प्रदेशमा भ्रष्टाचार भएका छन् । स्थानीय तहमा जनताले छाड्दैनन् । तथ्यमा जाँदा भ्रष्टाचार भएको छैन । अपवादमा होलान् । यो आरोप मात्र हो ।
अर्को प्रसंगमा उनले काठमाडौं महानगरपालिकामा एमालेको मेयर तय भइसकेको बताए । रिमालले भने, “एमाले भनेको विशाल चुम्बक जस्तो छ । सबै जना यसको वरिपरि एकीतृत भएका छन् । महानगरहरुमा हाम्रो उम्मेदवार तय नै छ । काठमाडौंमा पनि तय नभएको होइन, घोषणा मात्र नभएको हो । हामी भोलि बाजागाजा, सांस्कृतिक झाँकी, नाचगानसहित उम्मेदवारी दर्ता गर्छौं । जित्ने ठाउँमा फूर्तिफार्ती भइहाल्छ नि ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot