Logo

एमसीसी अनुमोदनपछि अमेरिकी उच्च अधिकारीको भ्रमण बढ्दै



काठमाडौं, बैशाख ११। नेपालको संसद्बाट एमसीसी पास भएसँगै नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बढ्न थालेको छ । नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना एमसीसीअन्र्तगतको ५ सय मिलियन डलर अर्थात् ५० अर्ब रुपैयाँ अनुदान सम्झौता अनुमोदन गरेसँगै अमेरिकी अधिकारीको भ्रमण बाक्लिन थालेको छ । गत वैशाख पहिलो साता मात्रै अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् ।

शुक्रबार मात्रै अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाडौं आएका हुन् ।

उक्त टोलीका एक सदस्य मार्क केली अमेरिकाको माथिल्लो सदन सिनेटका सदस्य मात्र नभएर नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । पोल्यान्ड र भारतलगायतका देशको लामो भ्रमणको सिलसिलामा अमेरिकी संसदीय टोली नेपाल आएको हो ।

यही साता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्दै छ । नेपालस्थित अमेरिकी दूतावासले यही साता (अप्रिल २५) अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन लागिएको जानकारी दिँदै दूतावासले संसदीय टोलीको भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ ।

लामो र घनिष्ठ सम्बन्धलाई मजबुत र थप गतिशील बनाउनका लागि पनि उनीहरूको भ्रमण भएको कूटनीतिज्ञहरूको भनाइ छ । यसअघि अमेरिकी सांसदहरू दुई वर्षअघि नेपाल भ्रमणमा आएका थिए । सन् २०२० फेब्रुअरीमा दुई दलीय (डेमोक्र्याटिक र रिपब्लिकन पार्टी)का सांसद सम्मिलित संसदीय टोली नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला परराष्ट्र मामिलाअन्र्तगत एसिया प्रसान्त क्षेत्र हेर्ने अमी बेराको नेतृत्वमा नेपाल भ्रमणमा आएका थिए ।

सन् २०१७ मा अमेरिकी डेमोक्य्राटिक पार्टीकी सांसद न्यान्सी पेलोसिकोको नेतृत्वमा आठ सदस्यीय दुई दलीय टोली नेपाल आएको थियो । उनीहरूको चासो विशेष गरी तिब्बती शरणर्थी केन्द्रित मुद्दामा थियो । नेपालको उत्तरी छिमेकी मुलुक चीनको तिब्बतबाट नेपालमा आएर शरणार्थीको रूपमा बसोबास गरिरहेकाहरूको विषयलाई मूल एजेन्डा बनाएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्