Logo

जनआक्रोश सबै नेताहरूप्रति होइन, श्रीमती, छोरीज्वाइँ, भाइभतिजा, सम्धिबाहेक कोही नदेख्ने नेताहरूप्रति होः सूर्य थापा



काठमाडौं, ११ वैशाख । नेकपा एमालेका नेता सूर्य थापाले जनताको आक्रोश सबै नेताहरुप्रति नभएर पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता नेताहरुप्रति भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “केही नेताहरुमा इमान, जमान र निष्ठा नभएकाले जनतामा निराशा छाएको हो । अहिलेको जनआक्रोश सबै नेताहरुप्रति होइन पुष्पमकमल दाहालजस्ता रगतको होली खेलेर आएका नेता, १५ वर्ष पार्टी चलाएर ५ वर्ष बाहिर बस्न नसक्ने माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता कार्यकर्तालाई मृत्युको बलिवेदीमा चढाएर दसवटा घाट चहारेर पानी खाँदै हिँडेका छन् ।”
उनले लोकतन्त्रका चर्का कुरा नेताहरुले जनतालाई नभएर श्रीमती, छोरी, ज्वाइँ, भाइ, सम्धि हेर्न थालेकाले समस्या आएको आरोप पनि लगाए । थापाले थपे, “लोकतन्त्रमा सबै नेता त्यस्ता छैनन् । ती अपवाद हुन् । यही हो अन्तिम मौका भनेर अवसरको दुरुपयोग गर्ने, खेलको नियम उल्लंघन गर्ने, लोकतन्त्रको मान्यता आत्मसात् नगर्ने नेताहरुलाई जनतालाई दण्डित गर्ने बेला आयो ।”
उनले एमालेमा आकांक्षी उम्मेदवार धेरै भए पनि हानथाप नभएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्