Logo

को हुन् केशव स्थापित ?



काठमाडौं, ११ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तय भएका केशव स्थापित फेरि चर्चामा पुगेका छन् । उनी २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए ।

बागमती प्रदेशको प्रदेश सभा सांसद जितेका उनी मुख्यमन्त्रीका दाबेदार थिए । पछि भौतिक पूर्वाधारमन्त्री बनाइए । तर, विवादमा परेपछि पदबाट बर्खास्त गरिए ।

स्थापितविरुद्ध महिलाहरुले यौन र्दुव्यवहारको आरोप लागेपछि पदबाट बर्खास्त भएका थिए । उनी यस्ता घटनामा बेला बेलामा विवादमा परिरहे । लोकप्रीय नारा बोकेर मतदातालाई प्रभावित पार्ने खूबी स्थापितमा छ । तर, उनले बोलेका कुराहरु पूरा गर्न नसकेर विवादमा पर्ने गरेका छन् ।

स्थापित युवा संघको अध्यक्ष समेत बनेका थिए । केपी शर्मा ओली प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष हुँदा उनी महासचिव थिए ।

राष्ट्रिय खेलकूद परिषद्को सदस्यसचिव समेत बनेका थिए स्थापित । २०५१ सालमा सदस्यसचिव बनेपछि स्थापितले एमालेवृत्तमा पकड बलियो बनाएका थिए ।

स्थापित केही समय तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग नजिक बने । तत्कालीन राजाको पक्षमा लाग्दा काठमाडौंको मनोनित मेयर समेत बने ।

नेपालको सबैभन्दा पुरानो दल प्रजा परिषद् ब्युँताउने सम्मको भूमिका गरे स्थापितले । माइतीघर नजिकै केन्द्रीय कार्यालय राखेर प्रजा परिषद्को प्रचार गरे । तर, स्थापित दललाई स्थापित गर्न सफल भएनन् ।

माओवादी समेत प्रवेश गरेका स्थापितको अस्थिर राजनीतिक चरित्र भने चलिरह्यो । एमाले फुट्दा मालेमा लागे । बामदेव गौतमको साथ छाडेर कहिले तत्कालीन राजाको पक्षमा खुले त कहिले गैर कम्युनिस्ट पार्टी चलाए ।

सत्ता गठबन्धन बनेपछि काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यलाई पछि हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापितलाई अघि सारेका छन् । स्थापितले चुनाव जित्ने सूत्र र रणनीतिबारे बालकोट पुगेर ओलीलाई पटक पटक भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्