महँगी बढ्यो भन्दै मुलुकभरका पूर्वाधार निर्माण ठप्प


काठमाडौं, बैशाख १२ । समयमा काम नगर्ने आरोप लागिरहेका निर्माण व्यवसायीले महँगीलाई देखाएर मुलुकभरको पूर्वाधार निर्माणको काम ठप्प पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै पूर्वाधार निर्माणको काम ठप्प पारेका हुन्। महासंघको अगुवाईमा आइतबारदेखि अत्यावश्यक बाहेक अन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्स्ट्रक्सन होलिडे घोषणा गरेका छन्।

महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय निर्माण सामग्रीको माग अत्यधिक बढे पनि सरकारले व्यवसायीको माग सम्बोधन नगरेकाले बाध्य भएर कन्स्ट्रक्सन होलिडे घोषणा गरेको बताए। महासंघले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिको माग सम्बोधन नभएसम्म कन्स्ट्रक्सन होलिडेमा जाने बताउँदै आइरहेका छन्।

‘कन्स्ट्रक्सन होलिडेको कारणले मुलुकभर करिब ८ खर्ब बराबरका ५ हजारभन्दा धेरै आयोजनाको निर्माण कार्य रोकिनेछ,’ अध्यक्ष सिंहले भने, ‘महासंघले निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्य वृद्धि नियन्त्रण भई सामान्य अवस्था नआएसम्मको अवधिलाई आधार मानेर आइतबारदेखि लागू हुने गरी कन्स्ट्रक्सन होलिडे गर्न लागेको हो।’

महासंघका अध्यक्ष सिंहले व्यवसायीले कन्स्ट्रक्सन होलिडे घोषणा गरेसँगै बिमा समितिले सोमबार छलफल गर्न औपचारिक रूपमा बोलाएको बताए। ‘हामीले कन्स्ट्रक्सन होलिडे घोषणा गरेसँगै भौतिक पूर्वाधार मन्त्रालयले अनौपचारिक छलफलको लागि सोमबार बोलाएको छ,’ उनले भने, ‘औपचारिक बैठकको लागि आवश्यक तयारी गरिरहेको सुन्नमा आएको छ।’ अध्यक्ष सिंहले ‘कन्स्ट्रक्सन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्य भने नरोकिने स्पष्ट पारेका छन्। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro