Logo

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ



काठमाडौं, वैशाख १३  । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।

अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

सहायक सुरुङको पूर्वतर्फ ८२२ मिटर र पश्चिमतर्फ ५९१ मिटर खनिएको छ । सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो ।

उनका अनुसार आयोजना स्थलमा दैनिक तीन चरणमा छ सय जनशक्ति कार्यरत छन् । काठमाडौँतर्फ ओभरपास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतर्फ अन्डरपास निर्माण पूरा भएको छ । मुख्य र सहायक सुरुङ मार्गलाई प्रत्येक ३७५ मिटरमा सातवटा सहायक बाटो (क्रस प्यासेज)ले जोड्ने छ ।

सुरुङ मार्गको काठमाडौँतर्फको सुरु बिन्दु चन्द्रागिरि नगरपालिका–१ स्थित टुटीपाखा र धादिङतर्फको सुरु बिन्दु धुनिबँेसी नगरपालिकाको सिस्ने खोला रहेको छ । कुल लम्बाइ २।७ किलोमिटर र चौडाइ (क्यारिज वे) साढे नौ मिटरको हुने यस सुरुङ मार्गको बीचमा डेढ मिटर चौडाइको डिभाइडर निर्माण भइरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot