Logo

पाँच वर्षमा १४ पटकसम्म फेरिए प्रमुख प्रशासकीय अधिकृत



काठमाडौं, बैशाख १४ । स्थानीय तहका पदाधिकारीहरूको पाँच वर्षीय कार्यकाल सकिनै लागेका बेला तीनवटाबाहेक ७ सय ५० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पूरा कार्यकाल अर्थात पाँच वर्षसम्म टिक्न नसकेको पाइएको छ।

कतिपय पालिकामा १० पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने केहीमा त पाँच वर्षमा १४ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएको देखिएको छ। संघीय मामिला मन्त्रालयका अनुसार धनुषाको हंसपुुर, बाँकेको राप्ती सोनारी र मोरङको सुन्दर हरैँचामा पाँच वर्षको अवधिमा १ दर्जनभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

धनुषाको हंसपुरमा १४ पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकारीहरू बताउँछन्। यद्यपि हंसपुर नगरपालिका मेयर रामज्ञान मण्डलले त्यति संख्यामा आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत नफेरिएको दाबी गरे। उनले भने, ‘निमित्तलाई समेत जोड्ने हो भने १४ पुग्छ होला तर निमित्तलाई नजोडौं।’

धनुषाको जनकपुर उपमहानगरपालिकामा १० पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। कर्मचारी प्रशासन शाखाका अनुसार रौतहटलगायत मधेस प्रदेशका अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृत धेरैपटक फेरिए। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले केही पालिकामा पाँच वर्षको अवधिमा १४र१५ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएको बताए।

तर मन्त्रालयका अर्का एक उपसचिव भन्छन्, ‘यो पाँच वर्षीय अवधिको अनुभवबाट पाठ सिक्दै एउटा निश्चित मापदण्ड बनाउनुपर्छ, ताकि अबदेखि एक पालिकामा एक प्रमुख प्रशासकीय अधिकृत पूरा कार्यकालसम्म बसोस्।’ पालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई खटाउँदा काम र अवधि तोकेरै खटाउनुपर्ने उनको सुझाव छ। ‘अवधि तोकेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अवधि नसकिँदै फर्किए भने कारबाही गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने।

पटकपटक फेरिएका प्रमुख प्रशासकीय अधिकृतहरू पनि आफ्नो मूल्यांकन नभएको गुनासो गर्छन्। राम्रोसँग काम गर्दा पनि मन्त्रालयले मूल्यांकन नगरेको उनीहरूको भनाइ छ। ‘यो अवधिमा कसले कसरी काम गर्‍यो। यसको मूल्याकंन हुँदैन,’ हाल कपिलवस्तुको वाणगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने, ‘यसबाट पटकपटक विभिन्न ठाउँमा खटाइएका हामीजस्ता प्रमुख प्रशासकीय अधिकृतहरूमा निराशा उत्पन्न हुन्छ।’ पाँच वर्षको अवधिमा उनी आफैं पनि ११ ठाउँ प्रमुख प्रशासकीय अधिकृत भएका छन्। सुुरुमा उनी ललितपुरको गोदावरीमा थिए भने हाल वाणगंगामा कार्यरत छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot