Logo

पर्यटन प्रवर्द्धन गर्दै साहसिक खेल जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर



काठमाडौं, १४ बैशाख । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए ।

साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश सरकारले विशेष ध्यान दिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । मकवानपुर गढी जीपलाईन चढ्दै उनले यो क्षेत्रमा पर्यटकीय सम्भावनाहरुको चर्चा गरेका छन् । ढुङ्गे गढी नजिकबाट सुरु भएको जीपलाइन यात्रा मकवानपुर गढी गएर टुङ्गिन्छ ।

एक किलोमिटर भन्दा बढी दूरी रहेको जीपलाइनको मज्जा लिँदै पर्यटनमन्त्री श्रेष्ठले साहसिक पर्यटनको प्रवर्द्धन गरेका हुन् ।मुटु रोगीले पनि गर्न सक्ने जीपलाईन नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको पर्यटनमन्त्री श्रेष्ठको तर्क छ । मकवानपुरगढी जीपलाईन तथा होटल गढी भ्यु एण्ड रिसोर्ट जीपलाईन दिलिप घिमिरेका अनुसार जीपलाईनले बागमती प्रदेशको राजधानी मकवानपुरको पर्यटन प्रवर्द्धन विशेष भूमिका खेलेको छ ।

मुटुका रोगीले पनि सहजै गर्न सक्ने जीपलाईन साहसिक पर्यटन र खेलकुदको महत्त्वपूर्ण आधार रहेको सुनाए । जम्मा १९ सय रुपैयाँ तिरेर सेल्फीसहित जीपलाईनमा यात्रा गर्न सकिने सञ्चालक घिमिरेको भनाइ छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलीखेलमा जीपलाईन चढेपछि त्यो ठाउँमा जीपलाईन चढ्नेको घुईँचो लागेको थियो ।

पर्यटनमन्त्री श्रेष्ठले जीपलाईनको यात्रा गरेपछि यो क्षेत्रमा पनि पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ । जीपलाईन सञ्चालन घिमिरेले ३० प्रतिशत छुटमा अहिले जीपलाईनको यात्रा गर्न सकिने बताउँदै यस्ता साहसिक खेलमा सहभागी हुन आह्वान समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्