Logo

महिलाको नेतृत्व न्यून



भजनी १४ वैशाख । गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये एक पदमा महिला अनिवार्य भएका कारणले पनि महिलाले नेतृत्व तहमा पुग्ने अवसर पाएका हुन । अहिले कैलालीमा स्थानीय तहको निर्वाचनका लागि बनेको तालमेलमा महिलाको नेतृत्व न्यून देखिएको छ ।

फरक दलसँगै चुनावी गठबन्धनमा जाँदा दुबै पदमा पुरुषले मात्रै पनि उम्मेदवारी दिन पाउने व्यवस्थाले महिलाको नेतृत्व स्थानीय तहमा ओझेलमा पर्ने सम्भावना बढेको हो । दलहरुले तालमेल र गठबन्धनमा जोड दिएपछि स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा पुरुषको नै उम्मेदवारी परेका कारण महिलाको उम्मेदवारी न्यून भएको छ ।

कैलालीमा १३ स्थानीय तहमध्ये ६ पालिकामा मात्रै महिलाको उम्मेदवारी परेको छ । कतिपय प्रमुख र साना दल एक्लै चुनाव लडेका कारण कुनै एक पदमा महिला उम्मेदवार भए पनि गठबन्धनमा भागबन्डाका कारण महिलाको नेतृत्व सङ्कुचनमा परेको टीकापुर नगरपालिकाकी नगर उपप्रमुख केशरी विष्टले बताए । गठबन्धनमा नेपाली कांग्रेसले कैलाली जिल्लामा सात स्थानीय तहमा प्रमुख र पाँच उपप्रमुखको भाग पाएकोमा चार जना महिलाको मात्रै उम्मेदवारी परेको छ । यसमा कांग्रेसले लम्की चुहा नगरपालिकामा प्रमुखकको उम्मेदवारी महिलालाई दिएको छ । माओवादी केन्द्रले चार स्थानीय तहमा प्रमुखको उम्मेदवारी पाए पनि महिला कुनै पनि स्थानीय तहमा प्रमुख पदमा देखिएन। माओवादीबाट भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर चौधरी, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा देवीदत्त कँडेल, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देवीदत्त उपाध्यायले उम्मेदवारी दिएका छन् ।

धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् भने लम्की चुहा नगरपालिकामा जानकी विष्टलाई अघि सारिएको छ । माओवादीको अन्य पालिकाको भागमा परेको उपप्रमुखमा टीकापुर नगरपालिकाको उपप्रमुख खडक शाह, जानकी गाउँपालिकाको उपाध्यक्षमा जयप्रकाश चौधरी, जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा दीर्घ विनाडी, बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा गणेश गिरीलाई अगाडि सारिएको छ ।

कांग्रेसले कैलाली गाउँपालिकामा भगवती चौधरी र चुरे गाउँपालिकामा धना थापा र घोडाघोडी नगरपालिकामा रीता चौधरीलाई अगाडि सारेको भए पनि भजनीको उपप्रमुखमा गोकेन्द्र भण्डारी, गौरीगङ्गा नगरपालिकामा भोजबहादुर बम, मोहन्याल गाउँपालिकामा कमल सावदलाई अगाडि सारेको छ । नेकपा एकीकृत समाजवादी ले कैलालीमा गठबन्धनबाट दुई पालिकामा प्रमुख र एक पालिकामा एक उपप्रमुख पदमा जिम्मेवारी पाएका छन् । प्रमुखमा समाजवादीले घोडाघोडी नगरपालिकामा खडक रावत, चुरे गाउँपालिकामा लोकबहादुर सारुमगर र उपप्रमुख गोदावरी नगरपालिकामा रत्ना काडायतलाई सिफारिस गरिएको छ ।

कांग्रेसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनका कारण महिलालाई नेतृत्वमा ल्याउन नसकिएको बताएका छन् । उनले कांग्रेसले कैलालीको एक स्थानीय तहमा प्रमुख र तीन पालिकामा उपप्रमुखमा महिला नै उम्मेदवार उठाएको बताए । “गठबन्धनको भागबन्डाका कारण महिलाको सहभागिता कम देखिएको हो । यसमा पनि कांग्रेसले केही ठाउँमा महिलालाई पनि नेतृत्व दिएको छ”, जिल्ला सभापति भट्टले भने, “तर सोच्नुपर्ने अवस्था चाहीँ छ । जुन रुपमा महिलाको सहभागिता हुनुपथ्र्यो त्यो हुनसकेन । अब अन्य निर्वाचनमा महिलालाई उचित स्थान दिनुपर्छ । यसमा हामी गम्भीर छौं ।”

नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले स्थानीय तहमा भएको गठबन्धनका कारण महिलाको नेतृत्व सङ्कुचित हुने सम्भावना बढेको बताए । उनले महिलालाई नेतृत्व तहमा पु¥याउने विषयमा अहिलेको भागबन्डाले चिन्ता थपेको बताएको छन् । “पार्टीगत रुपमा हेर्दा हामी अझै सङ्गठित र स्थपित भइसकेको छैनौँ । अर्कोतिर स्थानीय तहबाट आएका सिफारिसको आधारमा उम्मेदवार छनोट गर्नुपर्ने भएकोले पनि त्यहाँ स्थानीय नेतृत्वले पनि त्यसमा ध्यान दिन सकेको जस्तो लाग्दैन”, राष्ट्रियसभा सदस्यसमेत रहनुभएकी शाहले भने, “प्रदेशले पनि स्थानीय र जिल्ला नेतृत्वले टुङ्गोमा पु¥याउन नसकेका विषयमा मात्रै हेर्ने भएकोले त्यस्तै महिला नेतृत्वका लागि नाम नै कम आएका कारणले पनि स्थानीय तहमा महिलाको नेतृत्व खुम्चिन गएको छ ।”

गत स्थानीय तहको निर्वाचनमा कैलालीका १३ वटै स्थानीय तहमा महिलाको नेतृत्व रहेको थियो । कैलालीमा प्रमुखमा पुरुष नेतृत्व भए पनि उपप्रमुखमा सबै पालिकामा महिलाको नेतृत्व रहेको थियो । अहिले नेकपा एमालेले सबै पालिकामा उप प्रमुखमा महिलालाई स्थान दिएको छ । प्रमुखमा भने पुरुषको नै उम्मेदवारी परेको पाइन्छ ।

जिल्लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार २९९ बढेर एक करोड ७७ लाख पुगेको हो । मतदाताको सङ्ख्या हेर्दा महिला र पुरुषको सङ्ख्या लगभग बराबरी छ । जनसङ्ख्याका हिसाबले महिला बढी भए पनि पुरुष मतदाता दुई लाख ५० हजार बढी छन् । ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य छन् । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कूल जनसङ्ख्यामा पुरूष भन्दा महिला धेरै छन् । हाल कैलालीका १३ वटा स्थानीय तहको कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot