कृषिका कर्मचारीले नटेरेको अर्थमन्त्रीको गुनासो


काठमाडौं, बैशाख १५। अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कर्मचारीले आफूलाई नटेरको गुनासो गरेका छन् । आफूले २ महीनाअघि धानको उन्नत जातको बीउ ल्याएर किसानलाई बाँड्ने योजना ल्याउन भने पनि कर्मचारीले नटेरेको अर्थमन्त्री शर्माको दाबी छ ।

‘दुई महीनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँड्ने योजना ल्याउनू भनिरहेको छु तर तपाईंहरू (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन,’ अर्थ मन्त्रालयमा बुधवार आयोजित छलफलमा उनले कृषि मन्त्रालयका अधिकारीहरूलाई भने । उनले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गुणस्तर तथा नापतौल विभागसँग धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल भएको थियो ।

छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताए । उनले नेपालमा सूचीकृत उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीवार पुनस् छलफलमा आउन निर्देशन दिएका छन् ।

‘हामीले उन्नत जातको बीउ प्रयोग गर्‍यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन हुने देखिन्छ । यो काम गर्न ढिला नगरौं,’ निजी सचिवालयको विज्ञप्तिमा अर्थमन्त्री शर्मालाई उद्धृत गरिएको छ, ‘मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नु पर्दैन ।’ उन्नत जातको बीउ किन्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले आश्वासन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Skip This

Omoda E5 Pro