Logo

प्रचण्डकी छोरीलाई जिताउने कांग्रेसको कमिटमेन्ट हो, अर्काको सहयोग सित्तैँमा पाइँदैनः रामचन्द्र पौडेल



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, “भरतपुरका साथीहरुको मर्म, चोट अनि भावनात्मक आवेगलाई मैले बुझेको छु । भावना र यथार्थ बेग्लाबेग्लै कुरा हुन् । यतिबेला चितवनका साथीहरुले राजनीतिक दूरदर्शिता देखाउनुपर्छ । राजनीतिमा दुई कदम अगाडि जानका लागि एक कदम पछाडि फर्कनुपर्छ । प्रचण्डकी छोरीलाई जिताउने कांग्रेसको कमिटमेन्ट हो । त्यो हामीले पूरा गर्नैपर्छ । यसबाट दायाँबायाँ गर्न मिल्दैन ।”
धेरै भावनाको बहकाउमा लागेर पार्टीलाई दुर्घटना हुन दिन नहुने पनि पौडेलले औंल्याए । उनले थपे, “केही ठाउँमा हामीले सहयोग गर्ने हो, धेरै ठाउँमा अरुले हामीलाई सहयोग गर्छन् । अरुको सहयोग सित्तैँमा पाइन्छ भन्ने ठान्नुहुँदैन । गठबन्धन भनेकै कहीँ सहयोग गर्ने हो, कहीँ सहयोग लिने हो । गठबन्धन संघको चुनावसम्म जाने भएकाले यसमा हामी होसियार हुनुपर्छ । गठबन्धन स्वरुप नै नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ । बहुमत भए राजनीतिक स्थिरता हुन्छ । भावनामा बगेर पार्टीलाई दुर्घटना हुन दिनुहुँदैन ।”

“२०७४ को परिणामलाई उल्टाउने अवसर”
वरिष्ठ नेता पौडेलले बागी विद्रोहीलाई सम्झाएर बुझाएर उम्मेदवारी फिर्ता गराइने पनि बताए । उनले भने, “गठबन्धन नगर्दा २०७४ मा नेपाली कांग्रेस कहाँ पुगेको थियो ? यो गठबन्धन २०७४ को मत परिणामलाई उल्टाउने हो । हाम्रा साथीहरुले गठबन्धनको बलमा भएका परिवर्तनलाई अहिले नै बिर्सन मिल्दैन । गठबन्धनका कारण संघमा हाम्रै सरकार छ । राष्ट्रिय सभामा हाम्रो जित भयो । प्रदेश सरकारहरुमा हाम्रा मुख्य मन्त्री र मन्त्रीहरु छन् । त्यसैले बागी विद्रोहीलाई सम्झाएर चुनावी अभियान अघि बढाउने हाम्रो प्रयास जारी छ । बागी विद्रोही हुनु भनेको पार्टीको पनि बरबादी हो र आफ्नो पनि बरबादी हो । आक्रोश शान्त पारौं । पार्टीका लागि त्याग गरौं । मन मसक्क बाँधेर छाड्ने भनेको ठाउँमा छाड्ने हो, उठ्ने भनेको उठ्ने हो ।”

“नेतृत्वले सबैलाई न्याय गरेको छैन तर गठबन्धन ऐतिहासिक आवश्यकता हो”
५ दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको पौडेलले दोहोर्‍याए । पौडेलले भने, “नेपालमा आएको परिवर्तनको रक्षा गर्न, मुलुकलाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउन, सुशासन र राजनीतिक स्थायित्व दिन अहिले गठबन्धनको अरु विकल्प के छ भनेर सोच्न म लोकतन्त्रवादी साथीहरुलाई अनुरोध गर्छु । प्रजातान्त्रिक शक्तिविरुद्ध षड्यन्त्रको तानाबाना बुनिएको छ । राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय षडयन्त्रकारीहरु नेपालको विकास नहोस्, स्वतन्त्र र स्वाभिमानी भएर बाँच्न नपाऊन् भन्ने नियतका साथ लागिरहेका छन् । त्यसैले हामीले सहकार्यको प्रण गर्नुपर्छ ।”
नेता पौडेलले जनकपुर, पोखरा, भरतपुरका साथीहरुलाई संयम राखेर अघि बढ्न आह्वान पनि गरे । उनले भने, “ठाउँठाउँमा हाम्रा साथीहरु तात्कालिक आक्रोशमा हुनुहुन्छ । नेतृत्वले सबै ठाउँमा न्याय हुन्छ भन्ने छैन । टिकट वितरणमा कतिपय ठाउँमा नातावाद, कृपावाद, पक्षपात भएका छन् । म त्यसमा सन्तुष्ट छैन । तर जनकपुर, पोखरा, भरतपुरका साथीहरुले संयम राखेर पार्टीको अभियानलाई अघि बढाउनुपर्छ । प्रतिपक्षीले बाजा बजाएर अबीर दल्दै आउँदा के होला भन्ने सोचौं । शान्त मन लिएर, देशको भविष्य सोचेर, कांग्रेसको उत्तरदायित्व बुझेर अहिले राजनीतिक बुद्धिमानी देखाउने बेला हो ।”

“प्रधानमन्त्री या राष्ट्रपति हुन देउवालाई सहयोग गरेको होइन”
तपाईं गठबन्धनका निम्ति मरिमेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिइरहनुभएको छ भनिन्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, कतिपय साथीहरुले मेरो मिसन बुझ्नुभएको छैन । मेरो र अरुको सोच्ने शैलीमा नितान्त फरक छ । मैले सदैव सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिएको छु । आस्था र निष्ठाका लागि लडेको छु । त्यसबाट शेरबहादुरजीलाई फाइदा भयो होला । तर मैले पार्टीलाई कहिल्यै धोका दिएको छैन ।
तपाईंले प्रधानमन्त्री या राष्ट्रपति हुनका निम्ति पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सहयोग गरिरहेको आरोप पनि छ नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा पौडेलले भने, “शेरबहादुरजीसँग मेरो व्यक्तिगत द्रोह केही छैन । उहाँ र मेरो बीचमा गठबन्धनलाई बचाएर प्रतिगमनबाट रोक्ने कुरा मिलेको हो । तर उहाँको कार्यशैली पुरानै छ । बृहत् उद्देश्यका लागि मुटुमा गाँठो बाँधेर पनि काम गरेको हुँ । यसको मतलब सबै कुरा मिलिसक्यो भन्ने होइन । उहाँ र मेरो बीचमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने कुनै सहमति भएको छैन । मैले अपेक्षा वा सर्त राखेको पनि छैन । म आफ्नो आस्था र निष्ठाबाट डगमगाएको छैन ।”

 



प्रतिक्रिया दिनुहोस्