Logo

“म बबुरो जगन्नाथ पौडेलले उम्मेदवारी दिँदा भत्किने कस्तो गठबन्धन हो ?”



काठमाडौं, १६ वैशाख । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफू नेपाली कांग्रेसको बागी नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने, “पहिलो कुरा म बागीसागी केही होइन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कुनै उम्मेदवारी दिएको छैन । भलै मैले नेपाली कांग्रेसको केन्द्रको लाइसेन्स पाएको छैन । तर मेरो उम्मेदवारी रुख र चार तारे झन्डा विरुद्ध होइन । कांग्रेसका साथीहरुको समर्थनमा उठेको हुँ । त्यसैले उम्मेदवारी फिर्ता लिने कुनै कारण देख्दिनँ ।”
आफूले स्थानीय तहमा उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकार नहल्लिने पनि उनले औंल्याए । पौडेलले भने, “भरतपुरमा मेयरका अरु ३२ जना स्वतन्त्र उम्मेदवार छन् । अरुले उम्मेदवारी दिँदा केही नहुने, मैले उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकारमा कसरी हलचल हन्छ ? मेरो उम्मेदवारीको गठबन्धनसँग कुनै साइनो छैन । हामीले त्यति कमजोर भएर सोच्नु हुन्न । किनभने त्यसको विधि, पद्धति र प्रक्रियामा म संलग्न छैन ।”
उनले कुनै पनि नेताले आफूलाई गलाउन या फकाउन नसक्ने पनि बताए । पौडेलले भने, “सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्डलगायत गृहमन्त्री बालकृष्ण खाँड, उमेश श्रेष्ठलाई मैले सहयोग गर्नुस् सके, नसके म बबुरोलाई संवैधानिक हक प्रयोग गर्दा नरोक्नुस् भनेको छु । मैले नागरिक अधिकार प्रयोग गर्न किन नपाउने ? मैले छाड्न मिल्ने, रेणु दाहालले किन नमिल्ने ? उहाँ त बहिनी, छोरी सरहको मान्छे हो । उहाँको समय छ । मलाई छाडिदिए हुन्छ नि । मलाई गलाउने, फकाउने कुरा छैन ।”
पौडेलले आफू पार्टीको कारबाही भोग्न तयार भएको पनि बताए । उनले भने, “म नेपाली कांग्रेसको सानो कार्यकर्ता हुँ । तर निष्ठाको सवालमा म सानो मान्छे पनि होइन । त्यसैले सारा चितवन मेरो पछाडि लागेको छ । भरतपुरमा चार तारे झन्डा र रुखको उम्मेदवार को छ ? मैले हँसिया, हथौडामा भोट हाल्दिनँ भन्दा कारबाही गर्न मिल्छ ? मलाई दोष दिन मिल्छ ? म चितवन कांग्रेसको भावनाका निम्ति प्रतीक मात्र हुँ । म फिर्ता लिन्नँ । बरु म कारबाही भोग्छु । त्यो मैले सहनुपर्छ । राजीनामा दिनु परे पनि दिन्छु । एक्लो बृहस्पति हुँला तर म देशभरका कांग्रेसका लागि दीप जलाएर बस्छु ।”
आफू एमालेका अध्यक्ष केपी ओलीको उक्साहटमा नलागेको पनि उनले स्पष्टीकरण दिए । पौडेलले भने, “मैले कसैको आशीर्वाद पाएको भए निरन्तर सत्तामा हुन्थेँ । अथवा प्रधानन्यायाधीश भएर रिटायर हुन्थेँ होला । केपी ओलीलाई त म चिन्दा पनि चिन्दिनँ । म त आफू जित्नका लागि लडेको हुँ । कसैलाई हराउन मात्र होइन ।”



प्रतिक्रिया दिनुहोस्