Logo

माधव नेपालको आधार क्षेत्रमा प्रचण्डको रणनीतिक प्रहार



काठमाडौं, १७ वैशाख । नेकपा एमाले फुट्दा केपी शर्मा ओलीलाई सबैभन्दा क्षति काठमाडौं र ललितपुरमा पुगेको थियो । ललितपुरमा प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जन र प्रदेश सभा सांसदहरु नै नेकपा एसमा लागेका थिए ।

महर्जन ललितपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । सोही क्षेत्रको प्रदेश सभा तर्फ माधव पौडेल प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

स्थानीय चुनावमा देशभर गठबन्धन बन्दा ललितपुरमा नेकपा एस छैन । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मात्र गठबन्धन छ ।

नेकपा एसले ललितपुरको महालक्ष्मी नगरपालिकामा मेयर दाबी गर्दा समस्या आएको बुझिएको छ । महालक्ष्मीमा एसका नकुल थापा उम्मेदवार छन् । माओवादी केन्द्रका शिव कट्टेल काँग्रेस र माओवादी गठबन्धनबाट मेयरको साझा उम्मेदवार छन् । कट्टेल प्रचण्डका विश्वासपात्र हुन् । उनको विषयमा प्रचण्डले अडान लिएकाले नेकपा एस गठबन्धनबाट बाहिरिएको हो ।

कट्टेलकै लागि गोदावरीमा माओवादीले मेयर र उपमेयर काँग्रेसलाई छाड्न तयार भएको छ । तर, आफ्नो प्रतिनिधि सभा र प्रदेश सभा जितेको क्षेत्रमा मेयर नछाडेको भन्दै माधव नेपालले कडा चेतावनी दिएको बुझिएको छ । यो घटनाले एसका कार्यकर्ताको एमालेसँग भित्री साँठगाँठ हुनसक्ने देखिएको छ ।

माधव नेपाल पक्षधरले महालक्ष्मीको विषयले प्रचण्डले रणनीतिक प्रहार गरेको विश्लेषण गर्न थालेका छन् । भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनलाई समेत दृष्टिगत गरी काँग्रेस र माओवादीको मात्र रणनीतिक गठबन्धन भएको छ । जसका कारण अबको चुनावमा काँग्रेस र माओवादीले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव मिलेर लड्ने र एसलाई एक्ल्याउन सक्ने घटना विकास भएको छ ।

ललितपुरमा एस गठबन्धनबाट बाहिरिएपछि माधव नेपाल पक्षीय कार्यकर्ता एमालेमा जाने सम्भावना बढेर गएको छ । यसले ललितपुरमा एसलाई धक्का पर्न सक्छ । यसबाट एमाले नेताहरु उत्साही भएका छन् ।

महालक्ष्मीको घटनाले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र गाउँपालिकाहरुमा पनि गठबन्धनलाई असर पर्ने देखिएको छ । चिरिबाबु महर्जनलाई महानगरपालिकामा, गजेन्द्र महर्जनलाई गोदावरीमा चुनाव सजिलो नभएको विश्लेषण गर्न थालिएको छ ।

ललितपुर आफ्नो प्रभाव क्षेत्रका रुपमा लिएका माधव नेपाललाई प्रचण्डले ठूलो धक्का दिएका छन् । यसले चुनावमा ठूलै असर पर्ने देखिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot