Logo

चितवनमा गठबन्धन सफल हुन्छ, बागीले चारतारे झन्डा बोक्न मिल्दैनः राजेश्वर खनाल



काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका सातै पालिका र ९८ वडामा गठबन्धन सफल हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “संविधान र लोकतन्त्रको रक्षा र प्रतिगमनको पराजयका निम्ति गठबन्धन भएको हो । यसलाई चितवन कांग्रेसले आत्मसात् गरेको छ र यसका पक्षमा जनलहर आएको छ । केन्द्रदेखि जिल्लासम्म गठबन्धनका साथीहरुले कांग्रेसको नेतृत्व स्वीकार गरेको अवस्था छ । हामी यसको शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वस्त छौं । गठबन्धनका सबै उम्मेदवारले जित्छन् ।”
सभापति खनालले पार्टी निर्णयबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएको समूहलाई मूलधारमा समाहित हुन आग्रह पनि गरे । उनले भने, “नेपाली कांग्रेस जहिले पनि संस्थागत निर्णयका आधारमा चल्छ, कोही व्यक्तिको मर्जीमा चल्दैन । पार्टीको एउटा सानो समूहले रुष्ट भएर बागी उम्मेदवारी दिएको छ । हामीले निकै अनुरोध गर्दा पनि फिर्ता नगरेपछि अब हाम्रो बाटो अलग भएको छ । उहाँहरुलाई नेपाली कांग्रेस भनेर पछि लाग्ने अवस्था छैन । किनभने गठबन्धनलाई कमजोर बनाइयो भने फेरि पनि प्रतिगमनले टाउको उठाउन सक्छ ।”
उनले बागी उम्मेदवार जगन्नाथ पौडेललाई पार्टीको चारतारे झन्डा प्रयोग नगर्न आग्रह पनि गरे । खनालले भने, “पार्टीमा ५०, ६० वर्ष लगानी गरेका अग्रज नेताहरुलाई मेरो अनुरोध छ, युवा साथीहरुको भविष्य धरापमा नपारौं । गठबन्धनका पक्षमा दृढताका साथ उभिऔं । यदि आफ्नो उम्मेदवारी कायम राख्ने हो भने पनि नेपाली कांग्रेसको चारतारे झन्डा प्रयोग गर्न पाइँदैन । कांग्रेसको मर्म र भावना बुझेर आफ्नो चुनाव चिह्न लिएर हिँड्न अनुरोध गर्दछु । किनभने रुख र चारतारे झन्डा एकअर्काको परिपूरक हुन् । यसलाई दुरुपयोग गर्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot