Logo

धीरज प्रताप सिंह आइजीपीमा बढुवा हुँदै



काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीमा धीरज प्रताप सिंहलाई आइजीपीमा बढुवा गरिने बुझिएको छ । आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउने भएपछि सरकारले आज आइजीपी बढुवा गर्न लागेको हो ।

मन्त्रिपरिषदको बैठक बसी आजै आइजीपी बढुवा गर्ने प्रक्रिया बढाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रक्रिया बढाउन निर्देशन दिइसकेका छन् ।

आइजीपीमा बढुवा हुन लागेका धीरजप्रताप सिंह नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा पहिलो नम्बरको इन्स्पेक्टर बन्न सफल भएका थिए । सेवा प्रवेश गर्दा नै नम्बर एक बनेका उनले एसपी बढुवासम्म अग्रता कायम राख्न सफल भए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।

तर, एसएसपी बढुवा हुँदा २ नम्बरमा परे । उनलाई विश्वराज पोखरेलले उछिने । त्यसपछि पोखरेलले छलाङ मारेर आफूभन्दा अघिल्लो ब्याचीलाई पनि उछिनेर डिआइजी बढुवा पाए । यो घटनाले प्रहरीभित्र निकै असन्तुष्टि छायो । एआइजी बढुवा हुँदा पनि दरबन्दी नै बढाएर भए । त्यतिबेला उनले आफूभन्दा दुई ब्याच माथिकालाई उछिनेका थिए ।

पोखरेलको यो छलाङ रोकिने भएको छ । धीरज प्रताप सिंहले आइजीपीमा बाजी मार्ने भएका छन् ।

सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डिएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे ।

नेपाल प्रहरीमा अपराध अनुसन्धानमा अब्बल मानिएका सिंहले जोखिमयुक्त ठाउँको कमाण्ड सम्हाले । उनी पर्सा प्रहरी प्रमुख भएर काम गरे । अपराध अनुसन्धान महाशाखाको पनि कमाण्ड सम्हाले । प्रदेश नं २ को कमाण्ड सम्हाले । सीआइबीमा रहेर उनको कार्यकालमा जोखिमयुक्त कार्य भए ।

प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभाव भएकाले सिंह आइजीपी बन्न लागेपछि उत्साह जागेको चर्चा छ । उनी चर्चामा भन्दा काममा बढी खटिने स्वभावका अधिकृत हुन् । प्रहरी सेवामा प्रवेश देखि सुरुका दुई बढुवामा नम्बर एक भएका सिंह फेरि नम्बर एक बन्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्