Logo

अनुष्काको जन्मदिन आज, १४ वर्षको करियरमा २२ फिल्म



एजेन्सी, १८ बैशाख । बलिउड अभिनेत्री अनुष्का शर्माले आज आफ्नो ३४औं जन्मदिन मनाइरहेकी छिन् । अनुष्का अभिनेत्रीसँगै फिल्म निर्माता पनि हुन् । अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान पाइन् र २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो ।

अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो तर उनी बेङ्लोरमा हुर्किएकी थिइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए। अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले आफ्नो फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् ।

नायिकालाई सुरुदेखि नै मोडल बन्ने रहर थियो । स्नातक पूरा गरेपछि उनी मोडलिङ गर्न मुम्बई गइन् । उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनी वसन्त ग्रीष्म २००७ संग्रहमा अन्तिम मोडेलको रूपमा छानिइन् । त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गर्ने मौका पाए । उनले सिल्क एण्ड शाइन, व्हिस्पर, नथाला भूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरेका छन्।

मोडलिङका क्रममा अनुष्काले एक्टिङ्ग स्कूलमा प्रवेश गरिन् र फिल्मका लागि अडिसन दिन थालिन् । अडिसनको क्रममा उनले यशराज फिल्म्स स्टुडियोमा आफ्नो स्क्रिन टेस्ट दिएका थिए । अडिसन दिएपछि उनलाई ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ अफर आएको थियो, जसमा उनले साइन गरे।

उनले फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । अनुष्काले २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ’रब ने बना दी जोडी’ बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन्। यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

उनको फिल्मी करियरमा ’जब तक है जान’, ’पीके’, ’सुल्तान’, ’ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ’मत्रु की बिजली का मन डोला’, ’बम्बे वेल्वेट’, ’फिलौरी’ जस्ता फिल्महरू असफल भए। फिल्म जब तक है जान सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।

सन् २०१३ मा उनले भारतीय क्रिकेटर विराट कोहलीलाई भेटेका थिए । दुबैले एक स्याम्पुको विज्ञापनमा सँगै काम गरेका थिए र केही वर्ष डेटिङ गरेपछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरेका थिए । दुवैको वामिका नामकी छोरी छिन् ।



प्रतिक्रिया दिनुहोस्