Logo

कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा



काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ ।

कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले ७ सय ५३ तहमा १३ हजार ७ सय ६७ पदमा विजय हासिल गरेको थियो । कांग्रेसबाट महानगर, उपमहानगर र नगर प्रमुखमा २ सय ६२ जनाले उम्मेदवारी दिएका छन् ।

उनका अनुसार उपप्रमुखमा १ सय ९४ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्षमा ३ सय ७२ जनाको उम्मेदवारी परेको छ भने र गाउँपालिका उपाध्यक्षमा ३ सय ४० जनाको उम्मेदवारी परेको छ ।

७ सय ५३ स्थानीय तहको वडा अध्यक्षमा ६ हजार ४३ वडामा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । यस्तै, महिला सदस्यमा ५ हजार ९ सय ३८, दलित महिला सदस्यमा ५ हजार ६ सय ९१ र सदस्यमा ११ हजार ७ सय ८८ जनाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा २ सय ६६ र उपप्रमुखमा २ सय २३ पदमा विजय हासिल गरेको थियो भने वडा अध्यक्ष २ हजार २ सय ८६ पदमा विजय हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा ८ हजार ६ सय ७९ वडा सदस्य नेपाली कांग्रेसले जितेको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot