Logo

निर्वाचन आयोगका प्रवक्ताको चेतावनीः “आचारसंहिता पालना नगर्नेलाई जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ”



काठमाडौं, २० वैशाख । निर्वाचन आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले आचारसंहिता पालना नगर्नेको उम्मेदवारी रद्दसम्म हुने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “निर्वाचन आचारसंहिता कानुनी मात्र नभएर नैतिक दस्तावेज पनि हो । यो आयोगका लागि मात्र होइन, निर्वाचनको स्वच्छताका निम्ति हो । आयोग विगतको तुलनामा पालनामा एग्रेसिभ रुपमा लागिरहेको छ । २०, २५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौं । टिसर्ट, क्याप बनाउने र तडकभडक गर्नेलाई ठाउँका ठाउँमा सचेत र निर्देशन दिने काम गरेका छौं । जसले आचारसंहिता पालना गरेको छैन, त्यसलाई निगरानी गरी पत्राचार गर्ने काम निरन्तर गरिरहेका छौं । त्यसलाई पनि अटेर गरेमा कानुन बमोजिम योभन्दा थप कारिबाही हुन्छ । जरिवानादेखि उम्मेदवारी रद्दसम्मका कारबाही गर्न आयोग प्रतिबद्ध छ ।”
प्रवक्ता पौडेलले दलित प्रतिनिधित्व घटिरहेकाले त्यसमा कानुन संशोधन हुन सक्ने पनि औंल्याए । उनले भने, “प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिने दललाई महिला अनिवार्य नगरेकाले महिला प्रतिनिधित्व अलिकति घटेको छ । विगतको स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित भएका थिए । अहिले ३८ प्रतिशत उम्मेदवारी परेको छ । अघिल्लो निर्वाचनमा २ सय दलित महिला सदस्यमा उम्मेदवारी परेको थिएन । अहिले १७० पदमा भएन । दलित महिला सदस्यमा अरुले उम्मेदवारी दिने अवस्था छैन । दलितको बसोबास नभएको ठाउँमा अन्य महिलाले दिने गरी कानुन संशोधन हुन सक्छ ।”
उनले अहिलेसम्म ३५३ पद निर्विरोध भएको जानकारी दिए । साथै निर्वाचन आयोगका प्रवक्ताले इन्टरनेट सेवाप्रदायकको माग बमोजिम सहयोग गर्न सरकारलाई आग्रह पनि गरे । उनले भने, “इन्टरनेट अवरुद्ध भयो भने निर्वाचन सम्बन्धित सूचना पाउने नागरिक अधिकारमा खलल पुग्छ । यसपटक विगतभन्दा बढी उत्साहप्रद सहभागिता हुने आशा लिएका छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot