Logo

सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुन्छ : अर्थमन्त्री शर्मा



काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेपालीले आफ्नो इमानदारीको समेत अडिट गर्नुपर्ने बेला भएको र सबै व्यक्ति इमानदारी भए मात्र देशको अर्थतन्त्रको विकास हुने पनि बताए ।

राम्रो लेखा परीक्षण भएमात्र संस्थाको विकास सम्भव भएको उनको भनाई थियो । मन्त्री शर्माले समग्र देशको नै अडिट गनुपर्ने अवस्था रहेको बताए । उनले भने, “मैले आईक्यानका अध्यक्षज्यूलाई के हो अडिट भनेर सोधेँ, उहाँले अडिट भनेको परीक्षण भन्नुभयो, अडिट भनिरहँदा हिसाबकिताबको मात्रै बुझिने गरेको छ । परीक्षण भनेको लेखा क्षेत्रमा मात्रै हैन, समग्र क्षेत्रमा लागु हुने कुरा हो । आज हाम्रो देशमा बहुआयामिक गरिबी किन छ, यसको अडिट गर्नुपर्ने बेला भएको छ ।”

उनले इमानदारिता ‘लुज’ हुँदा व्यापार घाटा र शोधनान्तर घाटा बढेको हो कि भन्दै यसको पनि अडिट हुनुपर्ने कटाक्ष गरे । “आज व्यापार घाटा र शोधनान्तर घाटाको कुरा गरिरहेका छौँ, कहाँ मिस्टेक भयो ? कहाँ इमानदारितामा लुज भयो ? वा भुलचुकमा भयो, त्यसको अडिट गर्नुपर्ने बेला भएको छ,” उनले भने, “यति राम्रो हावापानी र उत्पादन गर्ने जमिन हुँदा पनि तीन खर्बको खाद्यवस्तु किन आयात भइरहेको छ, यसको अडिट गर्नुपर्छ । आजको दिनमा अर्थमन्त्रीको नाताले मै जिम्मेवार छु । तर, हिजोको दिनमा अडिटमा समस्या थियो कि खोज्दै र हेर्दै छु ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot