Logo

अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल



काठमाडौं, बैशाख २१। पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् ।

रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो । नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो ।

राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो । साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो । त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमी मुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयका एसिया प्रशान्त क्षेत्र हेर्ने एसिस्टेन्ट स्टेट सेक्रेटरी आन्द्रियस राफेल नागेली हाल नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोमबार परराष्ट्र मन्त्रालयमा भेटेका छन् । परराष्ट्र मन्त्रालयले विभिन्न समयमा हुने सो भेटलाई नियमित कूटनीतिक बैठक भनेको छ ।

त्यस्तै, वैशाखको तेस्रो हप्ता फ्रान्सेली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध मामिला हेर्ने ब्रिगेडियर जनरल जियोफ्रोय डी लारौजियरे पनि नेपाल आएका थिए । उनले रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका थिए ।

नेपालमा एमसीसी पास भएपछि अमेरिकाले थप अनुदान सहयोग गरेको छ । नेपालको संसद्बाट एमसीसी पासपछि वैशाखको पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि दोस्रो साता अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्