Logo

माथि ५ दलीय गठबन्धन छ, तल मन मिलेको छैन, तालमेलको प्रभाव शून्य छः लोसपा नेता



काठमाडौं, २१ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता लक्ष्मणलाल कर्णले जिल्ला जिल्लामा ५ दलीय गठबन्धनको प्रभाव शून्य रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामीले वीरगन्ज महानगरपालिकामा मात्र गठबन्धन गरेका छौं । मेयर एमालेले लिएको छ, उपमेयर हामीले लिएका छौं । बाँकी जिल्लामा हामी एक्लै लडेका छौं । नेता र कार्यकर्ताले मिहिनेत गरेका छन् । रिजल्ट पहिलेभन्दा राम्रो हुन्छ । तर ५ दलको माथि गठबन्धन छ, तल मन मिलेको छैन । तल प्रभाव शून्य छ । ठाउँठाउँमा बागी उम्मेदवार छन् । गठबन्धनको औचित्य देखिएको छैन ।”
उनले मधेस प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले एमालेको उपस्थिति देखिएको पनि बताए । कर्णाले भने, “मधेस प्रदेशमा एमाले आफ्नो प्रभावका लागि लडिरहेको छ । केपी ओलीको मधेस दौडाहाले यसपालि एमालेको पनि उपस्थिति देखिन्छ । मधेसको माहोल चाडपर्वको जस्तो छ । बाजागाजा, झन्डा, ब्यानर लिएर हिँडेका छन् । जनताभन्दा नेता र कार्यकर्ता उत्साहित छन् । हुन त जनता रोडमा आएर नाच्ने होइन । सबैको कुरा सुन्ने हो ।”
उनले स्थानीय तहमा भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने, “भ्रष्टाचार रोक्ने माइबाप कोही भएन । प्रदेश र संघलाई आफैं भ्रष्टाचार गर्दैमा फुर्सद भएन । विकास त भयो तर उचित र गुणस्तरको भएन । कमिसनको खेल बढी भयो । अब त्यसलाई नियमले बाध्नुपर्छ ।”
साथै लोसपा नेता कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा लाभ हुने पनि बताए । उनले भने, “मोदीजीको नेपाल आगमन उत्साहजनक छ । मोदीजी धार्मिक व्यक्ति हुनुहुन्छ । उहाँ बुद्ध जन्मथलो आउँदा संसारभरि नै ठूलो प्रचार हुन्छ । दुई देशका प्रमुख नेताहरु भेट्दाखेरि दुइटै देशलाई केही न केही फाइदा हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot