Logo

मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा



चितवन, २१ बैशाख । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ ।

समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिए । सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ । उनले भने “कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ ।”नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै उनले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताए ।

समाजका महासचिव डा शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताए । उनले भने “अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ ।”



प्रतिक्रिया दिनुहोस्