Logo

पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको चासो



काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन चासो राखेका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर उनले पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन खोजेका हुन् । पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन नहुँदाको पीडा भोगेका पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट त्यहाँ सुविधा सम्पन्न भवन बनाइदिने योजना अघि सारेका हुन् ।

पाशुपत क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा क्रियापुत्री भवन, भण्डारखाल क्षेत्रलगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता छ । पर्यटन मन्त्रालयका सचिव मदन कोइराला, पर्यटन आयोजना प्रमुख विष्णु भण्डारीसहित पशुपति पुगेका संस्कृतिमन्त्री श्रेष्ठले पवित्र पाशुपत क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकार तयार रहेको बताए । उनले प्रदेश सरकारको पनि उपस्थिति हुने गरी योजना प्रस्ताव गर्न पशुपति विकास कोषका कार्यकारी अधिकृत डा. घनश्याम खतिवडालाई आग्रह गरे ।

’पशुपतिनाथ मन्दिर परिसरमा रहेको क्रियापुत्री भवनको भौतिक सुधार , राम्रो शौचालयको व्यवस्थापनका साथै सुन्दर बगैंचासहितको भौतिक निर्माणको लागि बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत के गर्न सकिन्छ भनी राय सुझाव लिन एवं स्थलगत भ्रमण गर्न गरिएको हो’, संस्कृतिमन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठ मन्त्रालयको प्रशासनिक र प्राविधिक टोलीसहित आफैं फिल्डमा गएर सम्भावित आयोजनाको अध्यान गर्ने र देश र जनतालाई लाभ हुने किसिमका आयोजना बजेटमा समावेश गर्नतर्फ लागेका छन् ।

उनले थानकोटस्थित त्रिभुवन पार्कको विकास र विस्तारमा प्रदेश सरकारले के गर्न सक्छ भनेर मन्त्रालयको टिमसहित निरीक्षण गररेका छ । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले उक्त पार्कमा हालेको आयेजनाको अवस्था र आगामी वर्ष समावेश गरिनुपर्ने कार्यक्रमहरुको विषयमा सरोकारवाहरुसँग छलफल, राय सुझाव लिनुका साथै मन्त्री श्रेष्ठले भइरहेको कार्य प्रगति विवरणकोबारेमा जानकारी समेत लिएका छन् । त्रिभुवन पार्कमा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले एक करोडको बजेट हालेको छ ।

चन्द्रागिरि नगरपालिका लगलगेपाखा सामुदायिक वनस्थित पैदलमार्गसहितको पिकनिक स्पोटसमेत पनि मन्त्री श्रेष्ठले निरीक्षण गरे । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको पर्यटन बिकास आयोजनाले चन्द्रागिरी पुग्ने गरी उक्त पैदलमार्ग निर्माण गर्दैछ ।
पैदलमार्गसहितको पिकनिक स्पोटको काम समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव, आयोजना प्रमुखलगायत ईन्जिनियरहरूको टोलीसहित अवलोकन, निरीक्षण एवं कार्य प्रगतिकोबारेमा जानकारी लिन लगलगेपाखा पुगेका मन्त्री श्रेष्ठले सरकारी काममा ढिलासुस्ती हुन नहुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्