काठमाडौं, २१ वैशाख । एक महानगरपालिकासहित १७ पालिका रहेको मोरङ राजधानी काठमाडौं पछि चासोमा पर्ने क्षेत्र हो । स्थानीय तहको चुनावमा त्यहाँ विराटनगर नगरपालिकामा मात्र गठबन्धन बनेको छ । बाँकीमा गठबन्धनका केही दलहरुबीच घोषित अघोषित गठबन्धन मात्र छ । नत्र एक्ला एक्लै चुनावी मैदानमा छन् दलहरु ।
मोरङमा २०७४ को स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले विराटनगर महानगरपालिकासहित ९ पालिकामा प्रमुख पदमा जित हासिल गरेको थियो । तर, ४ मा मात्र उपप्रमुख जितेको थियो ।
नेकपा एमालेले ५ प्रमुख र ९ उपप्रमुखमा जित हासिल गरेको थियो । माओवादी र तत्कालीन संघीय समाजवादी फोरमले १-१ प्रमुख र उपप्रमुखमा जित हासिल गरेका थिए । तत्कालीन मधेशी जन अधिकार फोरम लोकतान्त्रिकले पनि १ प्रमुख र २ उपप्रमुखमा जित हासिल गरेको थियो । संघीय समाजवादी फोरम अहिले जसपा बनेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक काँग्रेससँग एकीकरणपछि अस्तित्वमा छैन ।
पाँच वर्षमा कोशीमा धेरै पानी बगिसकेकाले यसपटकको प्रतिष्पर्धा रोचक हुने देखिन्छ । काँग्रेसले विगतमा पनि विराटगरमा मेयर जितेकाले गठबन्धन पनि बनेकाले जित निकाल्ने दाबी गरिरहेको छ । तर, उसलाई एमालेको कडा चुनौती देखिएको छ । गठबन्धनका दलहरुबाट विगतमा मेयर र उपमेयर लडेकाहरुले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो असन्तुष्टिले चुनावी परिणाममा असर पर्न सक्छ ।
मोरङका अन्य गाउँपालिका र नगरपालिकाहरुमा पनि कडा प्रतिष्पर्धा छ । गठबन्धन नबन्नु र बनेकामा पनि सबै पार्टी नहुनुको लाभ लिन एमाले प्रयासरत देखिन्छ ।
काँग्रेसको गढ मानिएको मोरङ कोइराला परिवारको गृहथलो हो । यसकारण पनि मोरङ काँग्रेसका लागि प्रतिष्ठाको क्षेत्र हो । डा. शेखर कोइराला आफै चुनावी प्रचारमा सक्रिय छन् । मोरङमा एमालेका लालबाबु पण्डित पनि सक्रिय छन् । यसले चुनावी प्रतिष्पर्धा रोचक बन्ने देखिएको छ ।




प्रतिक्रिया