Logo

संस्कृति इन्टरनेशनल स्कूलको “सिकाइ सुधार” सम्बन्धि गोष्ठी



वैशाख २२ काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा वैशाख १४ गते शनिबार र १५ गते आइतबार हुनेछ ।

यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा रहेको जनाएको छ ।
यस कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुने जनाइएको छ ।

संस्कृति इन्टरनेशनल स्कूलकि निर्देशिका दिप्ती आचार्यले भने,“हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयहरूले अपनाएका छन् किनकि यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने गर्दछन् । जसले गर्दा हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पाठ्यक्रम मिलाएर विद्यालयको विषयवस्तु फराकिलो बनाउन र चौतर्फी शैक्षिक अनुभव प्रदान गर्न मद्दत गर्छ ।”

संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष रञ्जित आचार्यले भने, “यस कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिनेछ । दुई दिनको अवधिमा सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकहरूको साथसाथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीहरूसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनेछन् । मलाई आशा छ कि सबै सहभागीहरूले गोष्ठीको पूर्ण लाभ उठाउनुहुनेछ ।”

अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताको बारेमा इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्