Logo

कागेश्वरी मनोहरामा नेकपा एस एक्लै



काठमाडौं, वैशाख २३ । सत्तारूढ गठबन्धन अन्तर्गतको एक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालको चुनावी क्षेत्र हो, काठमाडौं–२ को कागेश्वरी मनोहरा नगरपालिका।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरि चुनावी तालमेलको कसरतमा गठबन्धनका दलहरू सक्रिय रहेका बेला अध्यक्ष नेपालकै निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनोहरामा भने नेकपा एसले एक्लै भिड्नुपर्ने अवस्था आएको छ। नेपालले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन कायम राख्ने लामो समय प्रयास गरे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अलग्गै गठबन्धन गरेपछि अन्ततः नेकपा एस एक्लिएको हो।

गठबन्धन दलहरूले तालमेल हुन नसकेको स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि नेकपा एसले कागेश्वरी मनोहरामा कांग्रेस र माओवादी केन्द्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने परिस्थिति सिर्जना भएको हो। दुई दल एक ठाउँमा उभिएपछि नेकपा एस एक्लै परेको हो। कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले र नेकपा एसले एकल्लाएक्लै उम्मेदवारी दिएका छन्। यउसो हुँदा त्यहाँ त्रिपक्षीय भिडन्त हुने अवस्था आएको छ।

नेकपा एसबाट निवर्तमान मेयर कृष्णहरि थापा निर्वाचनमा होमिएका छन् भने गठबन्धनबाट कांग्रेस नेता उपेन्द्र कार्की मैदान उत्रिएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित कार्कीले यसपटक माओवादी केन्द्रसँग सहकार्य गर्दा सहज जित निकाल्न सक्ने विश्लेषण गरिएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापासँग ४ सय ८२ मतले मात्रै कार्की पराजित भएका थिए। त्यसमा एमालेका तर्फबाट निवर्तमान मेयर थापाले ८ हजार ९ सय १८ मत ल्याएर जित हासिल गरेका थिए भने कार्कीले ८ हजार ४ सय ८२ मत पाएका थिए। त्यतिबेला माओवादी केन्द्रले करिब ३ हजार मत ल्याएका थियो।

एमालेबाट रामशरण ढुंगाना उम्मेदवार बनेका छन्। एमालेबाट विभाजित भई नेकपा एस बनेको अवस्थामा सो पार्टीलाई अप्ठेरो पर्ने आकलन पनि गरिएको छ। तर उम्मेदवारको सन्तुलन मिलाएका कारण जित्ने अपेक्षा एमालेले राखेको छ। भद्रबासबाट मेयर गोठाटारबाट उपमेयरको उम्मेदवार तय गरेर सन्तुलन मिलाइएको एमाले दाबी छ। अहिले त्यहाँ १ लाख ३३ हजार जनसंख्या रहेको नगरपालिकामा ३५ हजार मतदाता छन्। २८ देखि ३० हजार मत खस्ने अनुमान गरिएको छ। १० देखि १२ हजार मत ल्याउनेले निर्वाचन जित्न सक्ने भनिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्