Logo

हेटौंडालाई महानगर बनाउने संकल्प गरेका मेयरका ‘हेभिवेट’ उम्मेदवार दीपकबहादुर सिंह



बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ । मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल र ५ दलीय गठबन्धनकी मीनाकुमारी लामालाई कडा टक्कर दिँदै छन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले । मकवानपुरे पाका राजनीतिज्ञ सिंहको ‘इन्ट्री’ले दुवै पक्ष झस्किएका छन् ।

लामो राजनीतिक र सामाजिक जीवन बिताएका सिंह लोकप्रिय छन् । त्यसैले पनि उनी नेकपा एमाले र गठबन्धनका असन्तुष्ट मत थपेर पल्ला भारी बनाउने दाउमा छन् । किनभने ५ दलीय गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र असन्तुष्ट जमात छ भने एमालेमा पनि असन्तुष्ट मत छ ।

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हो, हेटौंडा । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँ ८३ हजार ५ सय ९७ रहेका मतदाता थिए भने अहिले १ लाख ४ हजार ५ सय १३ पुगेका छन् ।

हेटौंडामा २०४९, २०५४ र २०७४ गरी तीनै पटक नेकपा एमाले विजयी भएको थियो । २०७४ मा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला नेपाली कांग्रेस एमालेसँग जम्मा ६१५ मतान्तरले मेयरमा पराजित थियो । एमालेले मेयर–उपमेयरसहित १२ वडा, कांग्रेसले ५ वडा र माओवादी केन्द्रले २ वडामा जित हासिल गरेको थियो भने राप्रपाले ६५ सय मत ल्याएको थियो ।

त्यसो त सिंह पौडेलसँग दोस्रो पटक आमनेसामने भएका हुन् । २०७० को संविधानसभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नं ३ बाट एमाले उम्मेदवार पौडेलसँग पराजित भएका थिए । त्यतिबेला पौडेल १४,२५६ मतसहित विजयी बन्दा सिंहले ११,४६१ मत प्राप्त गरेका थिए । उनी भन्छन्, ‘म धेरै अघि बढिसकेको छु । दोस्रो संविधानसभाको निर्वाचनमा थोरै मतले पराजित भएको थिएँ, यसपटक पक्का जित्नेछु । त्यतिवेला मेरो ४६ सय मत बदर भएको थियो । ‘

हेटौंडाका जनताले विकल्प खोजेको सिंहको धारणा छ । ‘१५ वर्षसम्म एमालेले हेटौंडामा एकलौटी काम गर्ने मौका पायो । तर जनता कोही पनि खुसी भएनन् । ५ वर्षमा जम्मा ५ वटा शौचालय बनाएछन् । अहिले चुनावका भएभरको कुरा दिन्छु भन्नु बठ्याइँ मात्र हो,’ उनी भन्छन्, ‘जनताले केन्द्रमा गठबन्धनको ताल देखिसकेका छन् । प्रदेशले मन्त्रालय बढाएर जनताबाट उठाएको कर स्वाहा पारिरहेको छ । देश खोक्रो भइरहेको छ ।’

भ्रष्टाचारबाट मुक्तिलाई पनि उनले चुनावी नारा बनाएका छन् । सिंह भन्छन्, ‘म बेइमानी गर्दिनँ । भ्रष्टाचार गर्दिनँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेजस्तो त्यो आमाको रगत खानु बराबर हो । म आफूले पाएको तलब, भत्तामा दुई गुना आफ्नै खल्तीबाट थपेर हरेक वडामा शिक्षा र स्वास्थ्यमा लगानी गर्छु ।’

आफू पैसा कमाउनका लागि मेयर बन्न नलागेको पनि सिंह प्रस्टोक्ति छ । उनी थप्छन्, “म ठकुरीको छोरा हुँ । लप्पन छप्पन जान्दिनँ । मैले पैसाका लागि होइन, इज्जतका लागि राजनीति गरेको हुँ । जिल्ला बनाउँछु, देश बनाउँछु भनेर राजनीतिमा आएको हुँ । कमाउने भए महिनाको म दुई-चार करोड कमाउन सक्छु । मैले केका लागि पैसा कमाउने ? मलाई पैतृक सम्पत्ति नै पर्याप्त छ । कलकारखानामा सयौं मानिसलाई रोजगारी दिएको छु ।”

आफू जिल्ला विकास समिति मकवानपुरको सभापति हुँदा भ्रष्टाचार नगर्ने कसम खाएको स्मरण गर्दै सिंह भन्छन्, “म चिल्लो बोल्न जान्दिनँ । मैले कर्मचारीलाई के भनेको थिएँ भने म पनि घुस र कमिसन खाँदिनँ, मेरो टिमले पनि खान पाउँदैन । तपाईंहरु पनि नखानोस् । जसले खानुहुन्छ, यो जिल्लामा नबस्नुस् ।”

उनले एमाले र गठबन्धनले यस पटक मत नपाउने पनि ठोकुवा गरे । उनी भन्छन्, “यस पटक मैले १५-२० हजार मानिससँग कुरा गरेको छु । यो नगरको काँचुली फर्ने अवसर हो । अनन्तजीसँग न इमान छ, न जमान । मीनाजीले ५ वर्षमा ३ अर्ब सकेर ५ वटा शौचालय बनाउनुभएछ । ५ वटा शौचालय त म व्यक्तिगत खर्चमै पनि बनाउन सक्छु । यसपालि कांग्रेस, माओवादी, एमालेले नै मलाई मौका दिन्छन् ।”

सिंह कुनै पनि दल र गठबन्धनका उम्मेदवारसँग डराएका छैनन् । उनी भन्छन्,”कसको कोसँग गठबन्धन छ, म जान्दिनँ । मेरो सीधा गठबन्धन हेटौंडाबासीसँग छ । यहाँका गरिब, किसान, मजदुर, विद्यार्थी र युवकहरूसँग मेरो मन र मुटु मिलेको छ ।”

हेटौंडालाई स्वच्छ, सफा हरियाली, बनाउने र हरेक वडालाई नमुनाका रूपमा विकास गर्ने उनको अठोट छ । उनी भन्छन्, “म अन्य दलले जस्तो नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदिनँ । सबैलाई समेटेर अगाडि बढ्छु । मेरो जित युवाहरूको भविष्य निर्माणका लागि हो, वृद्धवृद्धा, किसान, मजदुर सबैको मुहार हँसाउनका लागि हो । मैले जितेमा हेटौंडा नगरपालिकाभित्रका भूमिहीन सबैले जग्गाको लालपुर्जा पाउँछन् ।”

घरघरमा वृद्धभत्ता पु¥याउने, कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, मेयर भएपछि आफूले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनी थप्छन्, “मलाई नगरपालिकाका तर्फबाट बिजनेस कम्प्लेक्स बनाउनु छैन । जनताका छोराछोरीलाई पढाउनु छ । मैले जितें भने कसैले खाडीमा रुख काट्न जानुपर्दैन । बाकसमा आउनु पनि पर्दैन ।”

समृद्ध हेटौंडा नगरी बनाउने सपना पालेका राप्रपा उम्मेदवार सिंहले ५ वर्षपछि हेटौंडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने संकल्प पनि गरेका छन् । उनी भन्छन्, “पहिले कर्राहाको खोला ६०–७० फिट थियो, अहिले १२, १३ फिट बनाएका छन्, यहाँका जनप्रतिनिधिले कुलो बनाइदिए । राप्तीको खोलामा प्लटिङ गरेकाले कुलोमा सीमित गरिदिए । राप्ती खोला पनि मिचिँदैछ । खोला मिचेकाले चुच्चेखोलाका कारण हेटौंडा डुब्दै छ । म जहाँ मरे पनि हेटौंडा ल्याएर दाहसंस्कार गर्नेछन् । राप्तीको बगरमा जति ढुंगा छन्, त्यति जनताले मलाई बोकेर घाटमा लग्छन् ।”

पूर्व मुख्यमन्त्री डोरमणि पौडेलकै वडाको सडक, बिजुली र पानीका लागि आफूले योगदान दिएको बताउने सिंह प्रदेश सरकार सेतो हात्ती मात्र भएको औंल्याउँछन् । उनी भन्छन्, “सेतो हात्ती कहिलेसम्म पाल्ने ? यो धेरै महँगो भयो । अब प्रदेशको अधिकार स्थानीय तहमै राख्नुपर्छ ।”

हेटौंडाको हुप्रा चौरमा अन्तर्राष्ट्रिय स्तरको सभाहल र क्षेत्रीय अस्पताल बनाउँदाको यश राप्रपा र दीपक सिंहले पाउँछ भनेर रकम नै फिर्ता पठाएको पनि उनी स्मरण गर्छन् । उनी भन्छन्, “नगरपालिकाले बसपार्कमा सटर कार्यकर्ताहरुलाई ६ हजारमा बाँडेको छ । कार्यकर्ताले अरुलाई हजारौंमा भाडामा दिएर खाएका छन् । बसामाडी, हर्नामाडी, हटिया आदि क्षेत्रमा नक्सापास गर्न धेरै गाह्रो छ । दुई दिनमा न्यून शुल्कमा गराउँछु । नगरपालिकामा रहेका ५० प्रतिशत कर घटाउँछु ।”

उपमहानगरपालिकाको मेयर भएपछि के कसरी काम गर्नुहुन्छ, तपाईंसँग गुरुयोजना छ भन्ने प्रश्नमा सिंह भन्छन्, “म इन्जिनियर होइन । राजधानीलाई राजधानी बनाउन मेरो दिमागले मात्र भ्याउँदैन । एकसे एक विज्ञको टोली बनाएर गुरुयोजना बनाउन लगाउँछु । म विकास के हो र कसरी गर्नुपर्छ भन्ने देखाउँछु । अब म र मेरो होइन, हामी र हाम्रो भन्नुपर्छ ।”

५ वर्षपछि मेयरमा नदोहोरिने पनि सिंह बताउँछन् । उनी भन्छन्, “अहिले वडा नं १ देखि १९ सम्मका बासिन्दाको काम कर तिर्नु मात्र भएको छ । हेटौंडाबासीले विकासको प्रत्याभूति गर्न पाएका छैनन् । केही किलोमिटर बाटो ढलान वा नाला बनाउनुलाई विकास मानिँदैन । खानेपानीको व्यवस्था छैन । सडक गल्लीजस्तो छ । एक मिनेटमा पार्किङ नपाइने अवस्था छ । चक्रपथ निर्माण पूरा भएको छैन । नेताहरु प्लटिङमा पैसा आउँछ भनेर त्यसमा मात्र लागेका छन् । विकासका नाममा जेसीभी चलाएर डाँडा खन्ने काम कहिलेसम्म गर्ने ? म यसलाई बदल्न चाहन्छु ।”

सानो काम गरेर पनि जनतालाई खुसी पार्न सकिने आइडिया छ उनीसँग । सिंह थप्छन्, “म चटपटे कुरा गर्न जान्दिनँ । धेरै ठूला योजना मसँग छैनन्, सामान्य काम मात्रै गरे पनि हेटौंडाका जनता खुसी हुने अवस्था छ । म भ्रष्टाचार र सुशासनको पक्षमा छु, उपमहानगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ, कांग्रेस, एमाले, माओवादी, समाजवादीलाई अब हेटौंडाबासीले पत्याउने अवस्था छैन ।”

 



प्रतिक्रिया दिनुहोस्