Logo

मतदानका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय खुल्ने



काठमाडौं, बैशाख २४। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ ।

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड’मा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरणको जिम्मा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मतदानको दिन कसैले मापदण्डविपरित सवारीसाधन प्रयोग गरे सवारीसाधन कब्जामा लिने आयोगले जनाएको छ ।

मतदानका दिन नेपाल आएका पर्यटकलाई यातायात सेवाका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट पास वितरण गरिने भएको छ । सो दिन नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश फर्कन लागेका पाहुनालाई होटेलबाट विमानस्थलसम्म लैजान यातायात सेवा दिइने भएको हो ।

सो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने भएका छन् । यो दिन आन्तरिक उडानका जहाज भने बन्द हुनेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot