Logo

सत्ता गठबन्धनलाई एमाले एक्लै भारी परेको छः टोपबहादुर रायमाझी



काठमाडौं, २४ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय सत्ता गठबन्धनलाई आफ्नो पार्टी भारी परेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन वैचारिक र राजनीतिक होइन । विचार र योजनाविहीन छ । यसले विकास होइन, विनासतिर लैजाने निश्चित छ । अहिले नेकपा एमालेको पक्षमा देशव्यापी लहर छ । पार्टी प्रवेशको लाखौं पैमानामा पुगिसक्यो । एमाले एक्लै भारी परेको छ सत्ता गठबन्धनलाई ।”
केन्द्रमा भएको गठबन्धन स्थानीय तहमा अस्वीकार्य भएको पनि रायमाझीले बताए । उनले थपे, “चितवनमा महागठबन्धन भएको छ, कांग्रेसकै नेता बागी छन् । पश्चिम रुकुममा कांग्रेस र एमालेको सहकार्य भएको छ । राष्ट्रिय स्तरमा भएको अपवित्र गठबन्धनलाई जनताले रुचाएका छैनन् । नेकपा एमाले नेकपाको निरन्तरमा बनेको छ । दिनको झझल्को बिहानले दिन्छ । अहिलेको जनलहरले एमाले अत्यधिक मतले विजय हुने संकेत गरिसकेको छ ।”



प्रतिक्रिया दिनुहोस्