Logo

मतपत्रमा चार रंग प्रयोग गर्न पाइने



काठमाडौं, बैशाख २५ । स्थानीय तह निर्वाचनको मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, निलो वा हरियोमध्ये कुनै पनि एक रंगको मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतपत्रमा सिसा कलमबाहेक चार रंगका मसी प्रयोग भएका कलम–डटपेनमध्ये कुनै एकले हस्ताक्षर गर्न पाइने भन्दै सोहीअनुसार गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको २२ वैशाखको निर्णयअनुसार यस्तो निर्देशन भएको जानकारी दिएका हुन् ।

निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरू दलको झन्डा र चुनाव चिह्न प्रयोग नगर्न पनि राजनीतिक दलका नेता कार्यकर्तालाई आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै कतिपय उम्मेदारले अन्य दलको झन्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको भन्दै त्यस्ता कार्य निर्वाचन आचारसंहिताविपरीत हुने भनेको हो ।

चुनावप्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झन्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता पौडेलले भनेका हुन् ।

आयोगले मतदातालाई भ्रम सिर्जना गर्नेगरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र त्यस्ता कार्य गर्नेमाथि कानुनबमोजिम कारबाही हुनेसमेत भनेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्