सबै पालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्छौ : अध्यक्ष ओली


काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने  घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलनको क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

राष्ट्रिय राजमार्ग र रणनितिक राजमार्गहरुलाई कम्तीमा ४ ल्यानको सडक बनाउने पनि उनले प्रतिवद्धता जाहेर गरे । ‘आधुनिक डिजाइनका सुरुङ मार्गहरु निर्माण गर्ने, सबै स्थानीय तहमा सदरमुकाम र वडासँग जोड्ने पक्की बाटो निर्माण गर्ने, पुर्व पश्चिम रेलमार्ग निर्माण गरिनेछ ।’ उनले भने,‘सबै महानगरमा मनोेरेल सञ्चालन गर्ने योजनाहरु क्रमशः आरम्भ गर्दै जाने, अत्याधुनिक सुरक्षित सडक, सुरुङमार्ग निर्माण गर्नेछौ ।’

त्यस्तै,ओलीले छिमेकी मित्र राष्ट्रहरु भारत,चीन, बंगलादेशमा अन्तरदेशिय बिद्युत प्रसारण लाइनहरु निर्माण गर्ने पनि बताए । प्रधानमन्त्री रोजगारी कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बीमा र आधारभुत औषधीहरु निशुल्क उपलब्ध गराउने लगायतका एमालेको कार्ययोजना रहेको उनले उल्लेख गरे ।