Logo

मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान



काठमाडौँ,२५ वैशाख । मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ ।
आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि सोमबार मतपत्रसहित निर्वाचन टोली खट्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार, मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगर र हेटौँडा उपमहानगरपालिकासमेतका ३५६ मतदान केन्द्रमा कूल एक हजार ७७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको छ ।

जिल्लाको सबै मतदान केन्द्रमा निर्वाचन सु–व्यवस्थित रुपमा सञ्चालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वंयमसेवकको नियुक्ति गरी काम थाल्नेछन् ।

मकवानपुरमा जिल्लाको विभिन्न अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको छनोट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेनाको जनशक्तिलाई निगरानीको रुपमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राससलाई बताए ।

मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता छन् । निर्वाचन आयोगले पठाएको ३ लाख २५ हजार मतपत्र जिल्लामा आइपुगेको तथा गाउँपालिका र नगरमा मतदाता संख्या अनुसार मतपत्रसहितका सामग्री पठाउन तयारीसमेत भैसकेको श्रेष्ठले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्