Logo

१७ वर्षकी लालसरी आठ वर्षदेखि ओछ्यानमै



काठमाडौँ,२५ वैशाख । रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् ।

ऋमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । अपाङ्गता भएको बुवाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैन । घरमा १४ वर्षकी विपना र नौ वर्षकी दीपा दुई अवोध बहिनी र ८१ वर्षीया हजुरआमा नौला घर्तीमगर मात्रै छन् । दुई दिदीको विवाह भएर गएपछि त उनको स्याहार गर्ने परिवारका सदस्य नै छैनन् ।

दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनिको भाग नै चल्दैन । दायाँ खुट्टामा ठूलठूला घाउ आएको छ । घाउ पाकेर पीप चुहिन्छ । चौबिसै घण्टा पिसाव चुहिन्छ । उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ । आमा छँदा आमाले र आमाको मृत्युपछि सानीआमाले उनको उपचारका लागि दाङको गोरखा अस्पताल, काठमाडौँको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, काभ्रे बनेपाको शिर मेमोरियल अस्पताल पु¥याए । तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन । अस्पतालको धान्नै नसकिने शुल्क । सहयोग उठाएको दुई÷चार पैसा र ऋण गरेको पैसाले कहाँ धान्थ्यो र । ऋण धेरै भएपछि रु सात लाख मूल्यमा खेत पनि बेच्यो उनको परिवारले । उपचार गर्दा विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न पुगेन खेत बेचेको पैसा ।

“पैसा हुनेका लागि मात्रै हो अस्पताल गरिब दुःखीलाई हेर्दैनन् ।” भीमकुमारीको स्याहार गर्दै आएकी विर्षना घर्तीमगरले भनीन् । टिचिङ अस्पतालमा त भर्ना शुल्क नै रु ४५ हजार माग्यो त्यो पैसा कहाँबाट दिने उनको भनाइ थियो ।

घर अगाडि तीन महिना खान नपुग्ने पाखो बारीबाहेक अब उनको परिवारसँग अर्थोक केही छैन । साँझ बिहानको हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानीआमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्नहम्मे हम्मे परेको मलाई लामो समयसम्म सहयोग गर्नसक्ने हैसियत छैन बिरामीकी सानीआमा विर्षना घर्तीमगरले भनीन् ।

छोरा अपाङ्ग, बुहारीको स्वर्गबास, अपाङ्ग साइली नातिनी लामो समयसम्म बिरामी, काइली र कान्छी दुई÷दुई नातिनी अबोध म कसरी संरक्षण गरुँ ८१ वर्षीया नौला घर्तीमगरले भक्कानिँदै भनीन् । “मेरो परिवारमा यति धेरै पीडा एक्लै कसरी सामना गरुँ”, उनले भनीन् ।



प्रतिक्रिया दिनुहोस्