Logo

नमुना बूढानीलकण्ठ बनाउने कांग्रेसको अभियानमा जनलहर छः विनोद चालिसे



काठमाडौं, २६ वैशाख । बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विनोद चालिसेले आफ्नो पार्टीले जित्ने आधार भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चालिसेले भने, “व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानीलकण्ठ हाम्रो रहर भन्ने नाराका साथ हामी जनताको घरदैलो अभियानमा छौं । हाम्रो नमुना बूढानीलकण्ठ अभियानमा जनलहर देखिएको छ ।”
चालिसेले बूढानीलकण्ठमा प्रशस्त समस्या भए पनि त्यसलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, “कर प्रणाली व्यवस्थित छैन, जग्गा प्लटिङका नाममा जथाभाबी भइरहेको छ । हामी यहाँ रहेका हरेक चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्नुपर्छ । विगतको स्थानीय सरकार प्रक्रियामुखी भयो तर परिणाममुखी भएन । सडक कालोपत्रे गर्नु, ढल हाल्नु मात्र विकास होइन । विकासका बहुआयाम हुन्छन् । सामाजिक, आर्थिक, मानवीय विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सरकारले बुझेन ।”
बूढानीलकण्ठमा गठबन्धन नभए पनि कांग्रेसले जित्ने आधारहरु भएको उनले बताए । उनले भने, “स्थानीय आवश्यकता हेरेर गठबन्धन गर्ने केन्द्रको नीति हो । बूढानीलकण्ठका केही वडामा मात्र गठबन्धन भएको छ । गठबन्धन नभए पनि जनताको बीचमा आफ्ना एजेन्डा लगेर जित्न सक्षम छौं । हामीले यस पटक जित्ने आधारहरु प्रशस्तै छन् । कोभिडका बेला हामीले साथ दिएका थियौं । सदैव जनताको सुखदुःखमा साथै छौं ।”
बूढानीलकण्ठका मतदातासमक्ष ९ प्रतिबद्धता गरेको पनि उनले औंल्याए । उनले भने, “सेवा प्रवाहमा सुधार र सुशासनयुक्त नगर प्रशासन, बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण, धर्म संस्कृति, कला, भाषा, साहित्य, शिक्षा तथा स्वास्थ्य, स्वच्छ वातावरण, सफा र सुन्दर नगर, रोजगारी र उद्यमशीलताः आर्थिक रूपले नमुना नगर, आफ्नै पानी आफैँले खानी, सबल र सशक्त समाज निर्माण र सूचना र सञ्चार, समृद्धिको आधार कांग्रेसको प्रतिबद्धता हुन् ।”



प्रतिक्रिया दिनुहोस्