Logo

कामभन्दा बढी परिमाणको भरपाई बनाएर भुक्तानी गर्ने इन्जिनियरसहित ६ जनाविरुद्ध मुद्दा



काठमाडौं, २७ बैशाख । तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य अन्तर्गत बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपु¥याई भुक्तानी गरेको भन्ने उजुरी आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत ६ जनाले सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत दिई ६६ लाख ६४ हजार ६९२ रुपैयाँ प्रक्रिया नपु¥याई भुक्तानी गरेको पुष्टि भएको थियो ।

गोइतसँगै माँ जानकी निर्माण सेवाका प्रोपाइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव, अन्नपूर्ण कन्सट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर गोइत र पाठक विरुद्ध ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा बिगो दाबी गरेको छ भने तत्कालीन लेखापाल श्रेष्ठविरुद्ध २ लाख ५४ हजार ७१९ रुपैयाँ ७६ पैसा, निर्माण व्यवसायी भुपेन्द्रविरुद्ध २१ लाख २४० रुपैयाँ ९७ पैसा, विजयकुमार यादवविरुद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ ४५ पैसा र ममतादेवी यादवविरुद्ध १९ लाख १० हजार २३६ रुपैयाँ ७९ पैसा बिगो दाबी गरेको छ ।

जिल्ला प्राविधिक कार्यालयका कर्मचारी एवं निर्माण व्यबसायीहरुमाथि कानुन बमोजिमाको माग दाबी गर्दै आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्