Logo

बुटवल उपमहानगरपालिकासहित रुपन्देहीमा कस्को पल्लाभारी



काठमडौं, २७ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा रुपन्देहीको माहोल तात्तिएको छ । सामरिक दृष्टिले रुपन्देहीको विशेष महत्व छ । त्यहाँ हस्ती नेताहरुको चुनावी क्षेत्र छ ।

गृहमन्त्री बालकृष्ण खाँड र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीका हुन् । लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र पनि हो रुपन्देही । यसकारण त्यहाँको स्थानीय चुनावमा राजनीतिकर्मीको मात्र नभई व्यवसायी र अन्य पेशाकर्मीका लागि पनि चासो बनेको छ ।

रुपन्देहीमा गत स्थानीय चुनावमा एमालेले १६ पालिकामध्ये बुटवल उपमहानगरपालिकासहित ७ पालिकामा चुनाव जितेको थियो । संघीय समाजवादी फोरमले ५, नेपाली काँग्रेसले २ र नेकपा माओवादी केन्द्रले १ पालिकामा जीत निकालेका थिए । यसपटक एमालेलाई बुटवलसहित यसअघि जितेका पालिकामा पुनः जित निकाल्ने चुनौती छ ।

बुटवलमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार मैदानमा छन् । एमाले विभाजित भएकाले पनि काँग्रेस चुनाव जित्नेमा बढी भरोसा गरिरहेको छ । तर, एमालेको पकड बलियो रहेकाले सजिलो छैन ।

विभाजित एमालेका लागि अन्य पालिकाहरुमा जित हासिल गर्न कठिन छ । तर, गठबन्धन बुटवल बाहेकमा देखिदैन । पाँच दलीय नभई नेकपा एस र माओवादीको गठबन्धन विभिन्न पालिकामा छ । यसकारण पनि एमाले जित निकाल्नेमा आशावादी देखिन्छ । तर, एमालेमाथि रुपन्देहीमा चुनावी जित निकाल्न माओवादी र एसको गठबन्धन सफल नहोला भन्न सकिदैन । यसलाई असफल बनाउन एमाले सक्रिय छ ।



प्रतिक्रिया दिनुहोस्