Logo

३५५ जना भए निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए



काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेको जनाएको हो ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइ सकेको आयोगले जानकारी दिएको छ । जसमा ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निविरोध निर्वाचित भएका वाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्ने आयोगले जानकारी दिएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निवाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयसेवकहरु आ-आफनो मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिई सकिएको र सो वमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्